कोरोना:प्रकृतिको आक्रोस, नेपालमा भोकमरीको सङ्केत

0

करिब दुई लाख वर्ष पहिले मानव जाति पनि प्रभाव र महत्वको हिसाबले अन्य जीवहरुकै हैसियतमा  थियो । मानवको जीवनचक्र पनि अन्य जीवजस्तै जन्मिने, बाच्नको लागि संघर्ष गर्ने, सन्तान उत्पादन गर्ने र सामान्य जीवनयापन गरेर मृत्युवरण गर्ने थियो । तर, समयको विकासक्रमसँगै मानवले अन्य जीवहरुलाई उछिन्यो । आफ्नो जीवनचक्रलाई विशिष्टिकृत गर्दै गयो ।

पछिल्लो १ लाख वर्षदेखि मानव जाति ब्रह्माण्डमा सर्वश्रेष्ठ प्राणीको रुपमा शासन चलाइरहेको छ । मानव अरुभन्दा बाठो भएर सर्वोश्रेष्ठ बनेको होइन, उसमा ज्ञान, विवेक, दया, माया, करुणा, सबैकुरा भएकाले सर्वोश्रेष्ठ भएको हो  । उसले आफ्नो बाठोपनलाइ विज्ञानमा लगायो । व्यापारमा लगायो । हरेकतिर लगायो । आज मानवले आकाश, जमिन र पाताल सबैतिर आफ्नो साम्राज्य विस्तार गरिरहेको छ ।

सुरुमा मानवले आफ्नो धर्म नछाडेर विवेकपूर्ण ढङ्गले हरेक प्राणीलाइ माया गरेर, प्रकृतीको पूजा गरेर समुचित जीवन व्यतित गर्‍यो । विस्तारै उसमा प्रलोभन, लालच, बुद्धिको घमण्ड, इर्ष्या, रिस, प्रतिशोध र स्वार्थ तीव्ररुपले वृद्धि हुँदै गयो । त्यसपछि उसले अन्य वीवजन्तु र प्रकृति माथिको दमन बढाउँदै गयो । आफ्नो स्वार्थका लागि कुनैपनि अन्य जीवमाथिको दमन अन्त्य गरेन । प्रकृतिमाथिको दोहन छाडेन ।

यति हुँदापनि प्रकृतिले मानव जातिलाई हरेक कुरा दियो । मानवप्रतिको आफ्नो जिम्मेवारी कहिल्यै भुलेन । तर, मानिस प्रकृतिप्रतिको कर्तव्यबाट सधैँ विचलित भइरह्यो । प्रकृतिको नियम मनिसले कतै पनि आत्मसात गरेन । न खाद्य चक्र मान्यो न त अन्य नाट्रोजन चक्र, जलचक्र सञ्चालनमा सहयोग गर्‍यो । मानव जातिले बरु चन्द्रमा र मङ्गललाई पृथ्वीको विकल्प बनाउन खर्बौँ खर्चियो । तर, आफू बाँचीरहेको पृथ्वीलाई सुन्दर बनाउन कहिल्यै चाहेन । मानिसले प्रकृतिलाई चारैतिरबाट आक्रमण गरिरह्यो, गरिरह्यो । आफ्नो स्वार्थ पूरा गर्नका लागि गरिएका मानवीय क्रियाकलापका कारण आज ७५ प्रतिशत भू–वातारण र ६६ प्रतिशत सामुद्रिक वातावरण परिवर्तन भइसकेको छ ।

वातावरणमा आएको परिवर्तनका कारणले नै मानवलाई कहिले स्पेनिस फ्लूले सतायो, कहिले बिफोर, सार्स, प्लेन त कहिले इबोलाले मानव जाति आक्रान्त बन्यो । अहिले मानव कोभिड–१९ नामक भाइरसले थलिएको छ ।  प्रकृतिलाइ हदैसम्म बिगार्ने मानव आज घरको ढोका थुनेर लुक्न बाध्य भाको छ । उसले खडा गरेको विज्ञान अझ चिकित्साशास्त्रको साम्राज्य अहिले धर्मराएको छ । पृथ्वी नपुगेर अन्तरिक्तमा समेत आफ्नो साम्राज्य विस्तार गर्न तम्सिएको मानव आज आफ्नै अस्तित्वको भिख मागिरहेको छ ।

यो विषम परिस्थितीमा मानिसले कोरोनाबाट मृत्युवरण मात्रै गर्ने छैन । भोकमरी, अभाव र आर्थिकमन्दीबाट थिचिएर, यो प्रतिकुल समय र परिस्थितिसङ्ग जुध्न र समायोजन हुन नसकेर लङ्गडो हुनेछ । आफूमाथि आइपरेको यो विषय परिस्थितिले कुन हदसम्म हानी पुर्‍याउँछ, त्यो बाच्नेहरुले देख्न पाउने नै छन् । यस्तो परिस्थिति कसरी आयो भनेर सोच्नु पनि अपरिहार्य भएको छ । मानवले बुझ्नसक्नु पर्छ कि प्रकृतिले मानवमाथि पोखेको आक्रोश हो कोभिड–१९ ।

कोभिड–१९ ले मर्ने कि भोकमरीले

कोभिड–१९ ले अहिले विश्व मानव नै हायलकायल भएको छ । विभिन्न देशरुबीचको सम्पर्क टुटेको छ । हवाई, जल र स्थलमार्ग प्राय अहिले ठप्प छन् । जसका कारण आवश्यक सामग्रीहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

जसका कारण कोभिड–१९ विरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य संसाधनको मात्रै अभाव भएको छैन, बाँच्नका लागि चाहिने खाद्य पदार्थको पनि अभाव चुलिएको छ । यस्तो अवस्थामा नेपालजस्ता अधिकांश परनिर्भर मुलुकहरुमा गम्भीर अवस्थाको सिर्जना हुँदैछ । एउटा प्रश्न उठ्दैछ, कतै कोभिड–१९ ले होइन, भोकमरीले त मरिँदैन ?

यो परिस्थितीले अझै भयानक रुप लियो भने भारतले नेपाललाई सामान निर्यात पैठारी गर्ने अवस्था नआउन सक्छ । यता नेपालमा भएका उत्पादनमुलक केही उद्योग पनि हाल बन्द छन् । खेतीका लागि आवश्यक बीउबिजन र मल पाउन गाह्रो छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार जम्मा ४८.२% घरपरिवार मात्र आफ्नो जमिनको उब्जनीबाट वर्षभरि खान पुग्ने स्थितीमा छन् ।

रोजीरोटीका लागि गरिरहेका काम ‘लकडाउन’का कारण अहिले बन्द छन् । ‘लकडाउन’ कहिलेसम्म जारी रहने हो त्यो पनि थाहा छैन । अन्य उत्पादनको स्रोत छैन । यस्तो अवस्थाले कयौँ परिवारको चुलो बल्न छाड्ने अवस्था आइरहेको छ ।

उनीहरुका लागि एउटा उपाय राहत त हो ।अर्थमन्त्रालयले बनाएको मापदण्ड अनुसार लक्षित परिवारलाई ३० के.जि चामल, २ केजि दाल,२ प्याकेट नुन ल, २ लिटर तेल ४ वटा साबुन र २ किलो चिनी दिइने उल्लेख छ ।  पहिलो कुरा त यति राहतले कतिन्जेल धानिने? अर्को कुरा यो दरमा प्राय लक्षित वर्गले राहत पाएका छैनन  ! त्यही राहत पनि समाजका हुनेखाने कहलिएकहरुले आफ्नो खल्ती भरिरहेका हुन्छन् ।

नेपाल विश्व भोकमरी सूचकांकमा हाल ७२ औ स्थानमा छ ।  ११% बेरोजगारी र १८.७% गरिबि र लकडाउन पुर्वकै तथ्यांकमा थियो । आर्थिक विकासका पक्षहरु कृषि,उद्योग,व्यापार,पर्यट्न,रोजगार र पुर्वाधार मध्ये कृषि र ब्यापारमा आंशिक अवरोध हुदा अन्य क्षेत्र पुर्ण बन्दै जस्तै अवस्थामा छन । विश्वब्यापिकरण र विश्व बजारीकरणले धानेको नेपालको खाद्यन्न ब्यवस्थापन भयावह रुपमा खल्बलिने निश्चित छ । आ.व. २०७५/७६ मा कुल वैदेशिक ब्यापारको ९४% आयातले ओगट्दा १ खर्ब ३८ अर्ब ६ करोड रुपियाँको कृषिजन्य वस्तु मात्र आयात भएको थियो ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको पछिल्लो तथ्याङ्क नियाल्दा, लकडाउनको अवधिमा दैनिक औसत करिब २०० मेट्रीक टन चामल खाद्य ब्यवस्था तथा व्यापार कम्पनिले बिक्रीवितरण गर्ने गरेको छ । मासिक करिब ५५००-६००० मेट्रीक टन चामल बिक्रीवितरण हुनेछ । मन्त्रालयका अनुसार खाद्य कम्पनी सङ्ग अब करिब ५ मे.ट. चामल र १४ मे.ट धान मौज्दात छ । यसले करिब ३ महिना मात्र धान्न पनि हम्यहम्य  देखिन्छ ।

कोरोनाको सङ्क्रमण दिनहुँ तीव्र रुपमा बढिरहेको छ । कतैबाट पनि रोकिने सङ्केत छैन । आशा जीवित राख्ने कुनै स्पष्ट औषधि पनि त बनाउन सकिएको छैन । लकडाउन कति दिन वा महिनासम्म गर्न सकिएला  र ! यही अवस्था तीन महिनासम्म रहिरहे के हुन्छ, त्यो सोच्न पनि सकिँदैन । कुनै एक देशको सङ्कट हुदो हो त अरु देशले साथ र सहयोग गर्ने थिए । जसले गर्दा सङ्कट टर्न सक्थ्यो । तर, अहिले पूरै विश्व भयावह परिस्थितिबाट गुज्रिरहेको छ । अवस्था यस्तै रह्यो भने नेपाल मात्र होइन पूरै विश्व नै भोकमरीले पिल्सिन दिन धेरै टाढा छैन । घरबाट ननिस्किएर कोरोनाबाट त बाचौँला, भोकमरीबाट कसरी बाँच्ने ?

लेखन: कमल प्र न्यौपाने
जलजला गा.पा. ०१ 

Leave a Reply