फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने

0

नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

निर्धारित समयभित्र भुक्तानी नगरे जरिवाना लाग्ने व्यवस्था भए पनि सरकारी निर्णयअनुसार, फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लकडाउन अझै लम्बिए सोहीअनुसार समय थप हुने उनले जानकारी गराए ।

उपभोक्तालाई विद्युत् महसुल, विलम्बबापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३०औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

लकडाउनको अवस्थामा दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानी लगायतलाई रकम आवश्यक पर्ने र महसुल समयमा संकलन नभए न्यूनतम सेवा प्रवाहका लागि नै खर्च नपुग्ने जोखिम आउन सक्ने देखेर अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरेको प्राधिकरणले प्रस्ट पारेको छ ।  प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्र भुक्तानी गरेमा दुई प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै ग्राहकले पाउँथे ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले गार्हस्थ (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको हकमा गत चैत र यो वैशाखको बिलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैतको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउने र तिरिसकेको हकमा वैशाखको बिलमा मिलान गरिने प्राधिकरणले जनाएको छ । Source: Nagariknews.com

Leave a Reply