आज १४ औं लोकतन्त्र दिवस, ज्ञानेन्द्र शाहले जनताको नासो फिर्ता गरेको दिन

0

 आज १४ औं लोकतन्त्र दिवस । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । त्यसैकाे सम्झनामा आज लोकतन्त्र दिवस मनाइन्छ ।२०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गर्नुभएको थियो । शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गर्नुभएकाे थियाे । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेको थिएन । निर्वाचन नभएपछि राजाले इच्छामा प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चलिनै रह्यो ।

तत्कालिन राजा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयाे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा संविधान सभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियो । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ ।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्म्निरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् ।दपरिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।

Leave a Reply