विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने

0

 कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् ।

विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ । कतिपय विद्यालय भने नतिजा प्रकाश गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक आरम्भ गरिसकेका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी विद्यालयले विद्यार्थीको नतिजा प्रकाशन गर्न जनाएको छ । निजी विद्यालयहरूले पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने निर्णयमा पुगेका छन् ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिएपछि विद्यालयहरुले गत चैत ५ गते कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए । तर परीक्षा दिएका ती विद्यार्थीको नतिजा भने प्रकाशन हुन सकेको छैन । तर अव भने विद्युतीय या अन्य माध्यमको प्रयोग भए पनि विद्यार्थीको नतिजा दिइने भएको हो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Leave a Reply