तिलु शर्मा पौडेल । कतारमा आज आइतबारदेखि सबैले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने भएको छ । मास्क नलगाई कुनै पनि मार्केट वा पसलमा प्रवेश नदिन समेत सरकारले निर्देशन दिएको छ । नियम उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्ने बताइएको छ l कोरोना भाइरसका कारण निजी सवारीमा अप्रिल २५ देखी अर्को सूचना नआउन्जेल सम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाइने भएको छ । यो नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ भने केही नेपालीहरू पनि सङ्क्रमित छन् l यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हालसम्म कतारमा १० हजार २ सय ८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै थप ९२९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भाइरसबाट कतारमा १० जनाको मृत्यु हुँदा १ हजार १२ जनाले स्वास्थ्य लाभ गरेका छन् ।त्यहाँ पछिल्लो २४ घण्टामा २५ सय ८४ जनामा परीक्षण गरिएको थियो l हालसम्म ८२ हजार २ सय ८९ जनामा कोरोनाको परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा ४ लाखको हाराहारीमा नेपालीहरू कार्यरत रहेका अनुमान गरिएको छ l

विज्ञापन