म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ मटला भिरमा स्थानीयले जोखिम मोलेर मह निकालेका छन् । लकडाउनको समयमा स्थानीय संघसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला निकालेका हुन् । भिर महको सिजन सुरु भएसँगै लुलाङका भिर मह शिकारीले डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको स्थानीयले बताए । भिर महको सिजन सुरु भएपछि लुलाङ, गूर्जाको जंगलमा रहेको भिर महमा मह शिकारी डोरी (परङ) मा झुण्डिएर मह निकाल्न सुरु गरेको धवलागिरी गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुबेदीले बताउनुभयो । उहाँका अनुसार स्थलगत रुपमै गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले समेत भिर महको सम्भावना भएपनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल

भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने भएपनि पेशेवर मह शिकारीले सजिलै निकाल्ने गरेका छन् । स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग स्थानीयस्तरमै हुने भएकाले बजारको समस्या छैन् । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिबद्र्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन् । जिल्लाको विभिन्न गाउँमा रहेका भिरमा भिरमौरीले लगाएका गोला काट्न समुह बनाएर हिड्ने गर्दछन् । म्याग्दीको भीर मह बारेमा तयार गरिएको बृत्रचित्रले विश्वभर नै चर्चा समेत पाएको थियो । बेनी नगरपालिका बाहेक रघुगंगा, अन्नपूर्ण, मालिका, धवलागिरी गाउँपालिका भिरमहका लागि प्रख्यात छ ।