गाजनेमा व्यावसायिक स्याउ तथा ओखर खेती सुरु

0

भूगोलका हिसाबले सम्म परेको ठाउँ तथा चिसो हावापानी र लेकाली क्षेत्र भएपछि व्यावसायिक रुपमा स्याउ तथा ओखर खेती सुरु गरिएको छ । पहिलो चरणमा हिमाली जिल्ला मुस्ताङबाट स्याउ र दाँते ओखरका बिरुवाहरु खरिद गरी परीक्षणका रुपमा लगाइएको हो । व्यावसायिक रुपमा स्याउ तथा ओखर खेती गर्नका लागि सम्भावना देखेपछि स्थानीयवासी स्याउ खेती गर्न अग्रसर भएका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजने क्षेत्रका स्थानीयवासिन्दाले आफ्नो बारीमा मुस्ताङदेखि रेड र गोल्डेन जातको स्याउ १ सय २५ तथा दाँते ओखरका २५ ओटा बिरुवाहरु ल्याएर लगाएको बताए । वषौंदेखि खेतीपाती गर्न छाडेको जग्गामा पछिल्लोपटक स्याउ र ओखरका बिरुवाहरु सारिएको छ । त्यसै खेर गएको खाली जग्गा जमिनको उपयोग गर्नेगरी स्याउ खेती विस्तार गरिएको हो । खेती नगरेर खेर गएको जग्गालाई प्रयोगमा ल्याउन स्याउ र ओखर खेती सुरु गरिएको छ । गाजनेका कुल २२ घरधुरी सबैले ओखर र स्याउका बिरुवा लगाएका छन् । स्थानीय अगुवा समेत रहेका यामबहादुर बानियाँले तत्कालका लागि पहिलो वर्ष परीक्षणका रुपमा स्याउ र दाँते ओखरका बिरुवाहरु लगाइएको जानकारी दिए । आफूले २०५० सालमै स्याउ लगाएको बताउँदै उनले यसपटक सबै स्याउ तथा ओखर खेतीमा आकर्षित भएको बताएका छन् । गाउँबाट बसाइसराई भएपछि गाजनेमा पछिल्लो समय अधिकांश जग्गाजमिन बाँझै रहेको अवस्था थियो । त्यही बाँझो रहेको जग्गालाई प्रयोगमा ल्याउने गरी अहिले स्याउ तथा ओखर खेतीको अवधारणा अगाडि सारिएको स्थानीयवासीको भनाइ छ । मुस्ताङबाट ल्याएको स्याउको बिरुवामध्ये धेरै लगाउनेहरुले १५ ओटाका दरले स्याउ र ५ ओटा ओखरका बिरुवा लगाएका छन् । थोरै लगाउने घर परिवारले ३ ओटा ओखर र ५ ओटा स्याउ लगाएको गाजनेका निलकण्ठ शर्माले बताए। उनका अनुसार आगामी वर्ष स्याउ र ओखरको बिरुवा बढाएर लगाइने भएको छ ।स्याउ र ओखर खेतीको बारेमा जानकारी दिँदै उनले भने, ‘खासगरी खाली रहेको जग्गा जमिनको उपयोग गर्नका लागि हामीले स्याउ र ओखरका बिरुवा ल्याएर लगाएका छौं ।’ स्थानीय जगन्नाथ आधारभूत विद्यालयको प्रधानाध्यापक समेत रहेका शर्माले भने, ‘यसपटक हिउँदबाटै समय समयमा वर्षा र हिमपात भएकाले लगाएको सबै बिरुवा शतप्रतिशत सरेको छ ।’ उनले थपे, ‘यसबाट सबै उत्साहित बनेका छौं, अर्को वर्ष स्याउ र ओखरको दायरा बढाउँछौं ।’समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित गाजने गाउँमा मकै, जौ, उवा, गहुँ, केराउ, तोरीलगायत खाद्यान्न बालीको उत्पादन हुँदै आएको छ । पछिल्लोपटक स्थानीयले बारीलाई मासेर कतिपयले खेत बनाई धान खेत समेत गरेका छन् । गाजने गाउँ ऐतिहासिक जगन्नाथ मन्दिर तथा डढेकोट राजदरबारका हिसाबले पनि प्रसिद्ध मानिन्छ ।

Leave a Reply