चन्द्रप्रकाश शर्मा
पोखरा, बैशाख १७ गते । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुलको भौतिक निर्माणको काम बन्दाबन्दीकै समयमा सकिएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दावी गरिएको ५६७ मिटर लामो उक्त पुलको सम्पूर्ण भौतिक संरचना निर्माणको काम बन्दाबन्दीकै समयमा सकिएको हो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भएपनि निर्माण स्थललाई पूर्ण रुपमा बन्द गरेर काम सकिएको निर्माण कम्पनीले जनाएको छ । पुलको बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले पार्कलाई पूर्ण रुपमा बन्दा गरेर कामदारको सुरक्षा सहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।रङ्गीचङ्गी बत्ति जडान गरिने उक्त पुल वि.सं. २०७७ साल असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको सम्पर्क काम सकिएको र पुलको दायाँ वायाँ विभिन्न रङगका बत्ति जडानका लागि वायरिङको काम भइरहेको थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी नरहरी खड्काले जानकारी दिनुभयो । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु पहिलेनै राखिएको र कामदार समेत रहेकाले बन्दाबन्दीका बेलापनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताउनुभयो ।बागलुङको बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिनुभयो । झोलुङ्गे पुलको लठ्ठा बाहेक अन्य सामग्री खरिद तथा निर्माणका लागि छ करोड ९१ लाख रुपियाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको र कार्यालयले लठ्ठा खरिदका लागि दुइ करोड १८ लाख र ल्याव टेष्ट तथा अन्य कामका लागि करिब १६ लाख रुपियाँ खर्च भएको नेपालले बताउनुभयो ।

यस्तो प्रकृतिको पुल नेपालमा थुप्रै बनेपनि यति लामो पुल नेपालमा पहिलो पटक निर्माण भएको नेपालले बताउनुभयो । ‘हामीले यस्ता धेरै पुलहरु बनाएका थियौं, तर ३०० मिटर भन्दा लामो पुल मध्य यो सबैभन्दा लामो पुल हो, पुलको लठ्ठा तान्नका लागि केही समस्या हुने भएपछि चिनबाट लठ्ठा तान्ने मेसिन खरिद गरेर पुल निर्माणलाई अगाडि बढाएका थियौं ।’ नेपालले भन्नुभयो ।

५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त पुल निर्माणपछि दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । वि.सं. २०५९ सालदेखि नै पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएकोमा लम्बाई लामो हुने भन्दै निर्माण हुन सकेको थिएन । ‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुल मध्य यो संसारकै लामो पुल भएको नगरप्रमुख पौडेलले दावी गर्नुभयो । ‘अहिलेसम्म स्वीजरल्याण्डमा रहेको ४९४ मिटर लामो पुललाई संसारकै लामो पुल भनिएको रहेछ, त्यसपछि यो पुल निर्माण भएपछि सम्भवत यो पुल संसारकै लामो पुल हुनसक्छ ’ पौडेलले भन्नुभयो । Source: gorkhapatraonline.com

विज्ञापन