कोरोना भाइरसको महामारीका कारण कक्षा छोड्ने विद्यार्थीकाे दर बढ्न सक्ने

0

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याइएको छ । सङ्क्रमणका कारण २ वैशाखदेखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहनसक्ने आँकलन गरिएको छ ।

यो अवस्थामा विद्यालय तथा शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने तथा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि प्रविधिमार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने खाँचो शिक्षासम्बद्ध व्यक्तिहरूले औँल्याउनुभएको छ । यसमा स्थानीय सरकार र अभिभावकको पनि समन्वयकारी भूमिका अपेक्षित हुने जनाइएको छ ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी कोरोना सङ्क्रमणले आफ्नो जीविकोपार्जन गर्न समस्या भएर पढ्नका लागि सहरी क्षेत्रमा बसेका झन्डै ४० प्रतिशत मानिस गाउँमा पुगेको बताउँछन् ।

जनजीवन सामान्य भएर आफ्नो व्यापार, व्यवसाय तथा पेसा पुरानै अवस्थामा सञ्चालन आउने वातावरण नबनेसम्म गाउँमा पुगेका नागरिक सहरमा आउन नसक्ने भन्दै यसले बालबालिकाको पठनपाठनलाई प्रत्यक्ष रूपले प्रभावित पार्ने विश्लेषण छ ।‘विद्यालय नखुलेको अवस्थामा पनि प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिने प्रयास गरिनुपर्छ’ उनको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply