आज १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

0

आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक/मजदूर आन्दोलनको संसारभरि स्मरण गरिँदै छ । यद्यपि विश्वव्यापी कोभिड–१९ महामारीका कारण विभिन्न देशले लकडाउन गरेका छन्, जसकारण विगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन । प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । यस दिन विश्वका प्रायः सबैजसो राष्ट्रहरूमा आधिकारिक रूपमा मजदूर/श्रमिकहरुलाई सार्वजनिक वबदा हुन्छ, कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ ।

१९ औं शताब्दीको औद्योगिकीकरणमा यूरोपेली देश तथा अमेरिकी देशहरुका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गर्ने गर्थे । यही परिस्थितिका बीच मजदुरहरुले १ मे १८८६ का दिन शोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे । साे क्रममा अमेरिकाको सिकागोमा यही माग सहितको मजदूरहरुको शान्तिपूर्ण पर्दशनमाथि गोली चलाइँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ ।

यस वर्ष नेपालमा पनि श्रमिक आन्दोलनको स्मरण गरिए तापनि विगतमा झैँ कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।यस वर्ष नेपालमा याे दिवस मनाउन औपचारिक कार्यक्रम नराखिए पनि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोना भाइरसका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख दलका नेताहरूले श्रमिक दिवसकाे शुभकामना दिनुभएकाे छ ।

Leave a Reply