नेकपाको डुंगा : को कति पानीमा छन् ?

0

केपी शर्मा ओली/ प्रधानमन्त्री ओलीलाई २०७४ सालको चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाइ ल्याएदेखि नै आफूलाई हेरेरै जनतालेमत दिएको अहं छ । त्यसैले उनी सरकारको नेतृत्व सम्हालेदेखि नै आफ्नो योजनाअनुसार मात्र अघि बढ्न खोजे । त्यसअन्तर्गत सुरुमा उनले अध्यक्ष दाहाललाई साथमा लिन खोजे, नेपाललाई किनारामा पुर्‍याउन चाहे । जब कि पूर्वएमालेको महाधिवेशनमा पराजित भए पनि नेपालले ओलीकै हाराहारीमा मत ल्याएका थिए । सम्भवतः त्यो कुरालाई ओलीले ख्याल गरेनन् । बरु नेपाल झन्डै १५ वर्ष पार्टी महासचिव हुँदा आफू छायामा परेको कुरा उनको मनमा गढिरहेको थियो ।

दाहाल र पूरै माओवादी खेमालाई त ओलीले कहिल्यै रुचाएनन् । पार्टी एकता पनि एमालेभन्दा माओवादीको आवश्यकताले भएको उनको बुझाइ छ । त्यसैले उनले आफूलाई एक नम्बर ठाने, दाहाललाई दुई नम्बरी । ओली सत्तामा पुगेर पनि आफ्नो खेमाको सानो घेराभित्र रहेर चलेको आरोप लाग्यो । त्यही भएर अहिले संकट आउँदा पनि उनको प्रतिरक्षार्थ थोरै नेतामात्र उभिएको देखिन्छ । आफ्नै कमजोरीका कारण ओली संकटको व्यूहमा फसेजस्तो देखिन्छ । तर उनीनिकट नेताहरू यो स्विकार्न तयार छैनन् । ‘उहाँ मुलुकलाई केही गरौं भन्ने आँट भएको र गरिरहनुभएको नेता हो । उहाँ रहँदा आफ्नो भविष्य सकिन्छ कि भन्ने अरूलाई लागिरहेको छ,’ केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘स्थिरताका लागि भन्दै भोट मागेर जितेर आएको पार्टीका नेतालाई राजीनामा माग्ने खेल भएको छ । यो गलत हो ।’

पुष्पकमल दाहाल

अहिले ओलीको राजीनामा माग्ने अग्रपंक्तिमा देखिएका छन् दाहाल । तर ओलीलाई यो अवस्थामा पुग्ने वातावरण सिर्जना गर्नुमा उनको पनि हात छ । जुन बेला मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठ्यो, औसत काम गर्ने केही मन्त्री ओलीले निकाले । औसत तलका मन्त्रीहरू मन्त्रिपरिषद्मा कायम रहे । त्यस बेला दाहाल बोलेनन्, किनभने उनका परिवारका मान्छेसमेत मन्त्रिपरिषद्मा थिए ।

दाहालले पार्टी एकताका क्रममा गोप्य राख्ने भनिएको सहमतिको पनि खुलासा गरिदिए । साढे २ वर्षपछि सरकार परिवर्तन हुने सहमति रहेको कुरा दाहालले सरकार गठन भएको एक वर्षमै सार्वजनिक रूपमा भनिदिए र आफैंलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे, जुन कुरा ओलीलाई मन परेन । सहमति नै भएको थियो भने पनि किन बाहिर भन्दै हिड्नुपर्‍यो भन्ने ओलीको मुख्य गुनासो थियो । दाहाल कार्यकारी अध्यक्ष पाएकोमा कुनै बेला खुसी थिए, तर ओलीले त्यो भूमिका पनि खुम्चाउन खोजेपछि मात्र उनी झसंग भए । यसबाट उनलाई अवसरवादी भन्ने आरोप पनि लाग्यो । तर दाहालसमर्थकहरू उनलाई समयको चापअनुसार हिँड्ने गतिशील नेता भन्छन् । ‘प्रचण्ड गतिशील नेता हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुहुन्छ । युद्ध र शान्तिलाई समायोजन गरेर अगाडि बढ्न सक्ने नेता पनि हो,’ नेकपा नेतृ कमला रोका भन्छिन्, ‘धेरै विश्वास गर्ने र लचिलो हुने बानी हुँदा भित्तामा पुर्‍याएको थाहा पाउनुहुन्न ।’

माधवकुमार नेपाल

वरिष्ठ नेता नेपाल ओलीका सुरुदेखि नै आलोचक हुन् । पार्टी एकता भएदेखि नै ओलीसँग सबभन्दा बढ्ता असन्तुष्ट हुने नेता उनै हुन् । पार्टीका निर्णयहरूमाथि उनले ‘नोट अफ डिसेन्ट’ समेत लेखेका छन् । तर उनी आफ्नो स्वार्थअनुसार हुँदा चुप बस्छन्, प्रतिकूल हुँदामात्र विरोधमा उत्रन्छन् भन्ने गरिन्छ । जस्तो पार्टी एकताका क्रममा नेपालको वरीयताक्रम तेस्रोमा राखियो । जब पूर्वएमालेमा नेपालभन्दा झलनाथ खनालको वरीयता माथि थियो । खनालको वरीयता घटाउँदा उनी चुप बसे । जब पछि आन्तरिक विवाद चुलिँदा खनालसँगको वरीयता हेरफेर गरियो, त्यो बेला नेपाल रुष्ट बने ।

विवादास्पद युनिभर्सल पिस फेडरेसनको काठमाडौं सम्मेलनको विवादमा नेपालले ओलीलाई साथ दिए । आफ्नो पक्षका केही मन्त्री जिल्ला इन्चार्जहरू परेको बेला उनले खुसी प्रकट गरे । नेपालले विधि पद्धतिको कुरा त गरेका छन्, तर आफने अनुकूल निर्णय आउँदा चुप बस्ने, प्रतिकूल अवस्थामा मात्र बोल्ने गरेको इतिहास छ । यद्यपि उनीनिकट नेता ठाकुर गैरे अहिले नेपालले विधि पद्धतिका लागि अडान लिएको ठान्छन् । ‘तर हाम्रा समग्र सिनियर पुस्ताका नेताहरू विगतमा कसको के सम्बन्ध थियो भन्ने कुराले पनि कहिलेकाहीँ गाइडेड भएको देखिन्छ,’ उनले भने ।

झलनाथ खनाल

पूर्वएमाले–कालदेखि नै खनाल ओलीका आलोचक हुन् । महाधिवेशनपछि उनको समूहका धेरै नेता माधवकुमार नेपाल पक्षमा लागेपछि उनको समर्थक पंक्ति खासै ठूलो छैन । तर केन्द्रीय सचिवालयमा भएकाले उनको पनि शक्ति छ । उनलाई सबभन्दा ठूलो आक्रोश आफूलाई राष्ट्रपति नबनाएको भन्नेमा छ भनिन्छ । राष्ट्रपतिको आश्वासन पाएर पनि पछि विद्यादेवी भण्डारीलाई अघि सारेपछि खनाल पार्टीमा असन्तुष्ट थिए । पछि उनको वरीयता पनि तल झारेपछि झनै रिसाए । जब सचिवालयको गठजोडमा खनालको भूमिका निर्णायक बन्ने स्थिति देखियो, ओलीकै प्रस्तावमा खनालको वरीयता माथि सारियो । त्यसबाट खनाल खुसी भए । तर उनी पहिलेदेखि नै दाहालसँग निकट सम्बन्ध राख्छन् र अहिले स्वाभाविक रूपमा दाहालको कित्तामा पुगेका छन् ।

वामदेव गौतम

अहिले नेकपाभित्र सबभन्दा चर्चाका पात्र हुन् गौतम । चुनाव हारेर पनि प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा राख्छन् उनी । २०७४ को चुनावमा आफूलाई पार्टीका नेताहरू नै मिलेर हराएको उनको बुझाइ रह्यो । त्यसपछि उनले सुरुमा ओलीलाई नै सहयोग गरे । तर जब प्रतिनिधिसभामा प्रवेश गर्ने कुरामा ओलीले चासो दिएनन्, गौतमले अघिल्लो वर्षको स्थायी कमिटी बैठकमा ओली सरकारले काम गर्न नसकेको भन्दै १६ पृष्ठको प्रतिवेदन नै ल्याए । र, दाहालसँग नजिक भए ।

प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो पक्षमा ल्याउन उपाध्यक्ष पददेखि संगठन विभाग प्रमुख र कास्कीको उपनिर्वाचन लड्नसमेत प्रस्ताव गरे । यी घटनाक्रम हेर्दा गौतम कुनै विधि, पद्धतिभन्दा पनि आफ्नो भूमिका कहाँ–कसरी स्थापित हुन्छ भन्नेमै बढी केन्द्रित देखिन्छन् । कतिसम्म भने, उनले संविधान संशोधन नै गरेर राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षासमेत बोकेर हिँडे । यो प्रस्ताव यसअघि पार्टीले अस्वीकार गरेको थियो । तर, अहिले फेरि ओलीेले त्यस्तै प्रस्ताव ब्युँताएका छन्, जुन संविधान, कानुन, विधि, पद्धति र नैतिकताको कुनै कसीमा नाप्दा पनि जायज ठहरिन मुस्किल छ ।

गौतमलाई पटक–पटक प्रधानमन्त्रीको ललिपप देखाएर नेताहरूले ‘भकुन्डो’ को रूपमा प्रयोग गर्ने गरेको टिप्पणी अचेल हुने गर्छ । यो कुरा अहिले गौतमनिकट नेताहरूले पनि बुझेजस्तो देखिन्छ । ‘उपनिर्वाचन र संविधान संशोधन अहिलेका लागि असम्भव छ, अहिले वामदेव कमरेड प्रधानमन्त्री बन्ने सम्भावना छैन । पार्टी एकतालाई मजबुत गर्ने किसिमले त्यो प्रस्ताव आएको पनि होइन,’ उनीनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले भने, ‘मलाई लाग्छ, अहिले वामदेव कमरेड गोटी बन्नु हुँदैन, उहाँले धेरैपटक धोका पाउनुभएको छ । अब धोका पाउने स्थिति सिर्जना गर्न पनि हुँदैन ।’

प्वाल परेको डुंगा
नेकपाभित्रका सबैथरी नेताहरूको अहिलेको बहस हेर्दा लाग्छ– ‘आफूचाहिँ दूधले धोएको, अरूचाहिँ दागैदाग लागेका ।’ तर सिक्काको अर्को पाटो पनि छ । स्वार्थ मिल्दा अंगालो हाल्ने, स्वार्थ नमिल्दा एक अर्काविरुद्ध युद्ध छेड्ने प्रवृत्ति उनीहरूमा देखिन्छ ।

अहिले प्रधानमन्त्री ओलीले कुबेलामा अध्यादेश ल्याएर मुलुकको जनमत नै विभाजित गरिदिए । कोरोना भाइरसविरुद्धको संघर्षमा लड्नुपर्ने बेलामा पार्टीभित्रैबाट उनीविरुद्ध गम्भीर अविश्वास पैदा भयो । यही प्रकरणको प्रतिक्रियास्वरूप अहिले ओलीलाई हटाउने गरी दाहाल–नेपाल समूहले राजीनामा मागेको छ । दुई वर्षअघि पार्टी एकता गर्दा जेट विमान हाँकेको दाबी गर्ने नेताहरू गन्तव्यमा नपुग्दै ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने वा दुर्घटनामा पर्ने अवस्थामा आइपुगेका छन् । उनीहरू सवार डुंगालाई पद, सत्ता, शक्ति र स्वार्थले प्वाल पारिरहेको छ ।

यी सबै घटनाक्रमलाई नियालिरहेका नेकपाका पुराना नेता प्रदीप नेपाल आफ्ना सहकर्मीहरू आपसमै भिडेर सकिने दिशामा लागेको ठान्छन् । ‘हाम्रा नेताहरूलाई गुट बनाउने बानी परेको छ, एउटा मालिक अरू नोकर हुन्छन् । हाम्रोमा गुट बनाउन वामदेव र केपी कमरेड सिपालु छन् । यसपालि सत्तामा गएपछि केपीको गुट कमजोर भयो । वामदेवसँग सदाबहार गुट छ । नेपाल र खनाल गुट बनाउन जान्दैनन्,’ केन्द्रीय सदस्यसमेत रहेका नेता नेपालले थपे, ‘केपी ओली यस्ता फन्डामा पहिलेदेखि नै माहिर हो । राजनीतिक सिद्धान्त नहुनु प्रचण्डको कमजोरी हो । यिनीहरू यस्तैमा लडेर बाँकी अढाइ वर्ष पनि बिताउँछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply