अमेरिकामा मात्रै १० लाख संक्रमित

0
कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १० लाख नाघेको छ ।

कोभिड–१९ बारे विश्वव्यापी रूपमा तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार साँझसम्म अमेरिका १० लाख १३ हजार जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वभर संक्रमित हुने करिब एक तिहाइ हो । विश्वभर ३१ लाख २८ हजाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकामा हालसम्म ५८ हजार ४ सयभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् । यो भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको संख्याभन्दा पनि बढी हो । विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूले धेरै परीक्षण गरेकाले संक्रमितको संख्या बढी देखिएको बताए । विस्तारै संक्रमितको संख्या शून्यमा झर्ने उनको भनाइ छ । ट्रम्पले गत फेब्रुअरीमा कोभिड–१९ संक्रमितको संख्या शून्यमा झार्ने बताएका थिए ।

त्यतिबेला अमेरिकामा कोभिड–१९ का १५ जना बिरामी थिए । भाइरसको संक्रमणप्रति समयमै गहन अध्ययन नगर्दा गम्भीर परिणाम उत्पन्न भएको भन्दै राष्ट्रपति ट्रम्पको निकै आलोचना हुने गरेको छ ।

स्वास्थ्यविद्हरूले भाइसरको संक्रमण सुरुवाती चरणमै रहेका बेला देशव्यापी लकडाउन गर्न उनलाई सुझाव दिएका थिए । तर उनले अमेरिका बन्द गर्ने देश नभएको भन्दै अस्वीकार गरिदिएका थिए ।भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राज्यहरूले लकडाउन घोषणा गरेका थिए । तर राष्ट्रपतिले अमेरिकी अर्थतन्त्र अप्ठ्यारोमा परेको, बेरोजगारहरूको संख्या बढेकोलगायत कारण देखाउँदै लकडाउन अन्त्य गर्न गभर्नरहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रपतिको निर्देशनसँगै कतिपय राज्यले लकडाउनलाई खुकुलो पारिसकेका छन् । मंगलबारसम्म जर्जिया, ओक्लाहोमा, अलास्का, साउथ क्यारोलिनाले केही व्यवसाय खुला गरिसकेका छन् । त्यसैगरी, टेनेसी र मिसिसिपीमा यसअघि घोषित लकडाउन अवधि सकिए पनि थपिएको छैन । रिपब्लिकन दलका गभर्नर रहेका आठ राज्य अर्कान्सस, आयोवा, नेब्रास्का, नर्थ डकोटा, ओक्लाहोमा, साउथ डकोटा, युट र वायोमिङले भने अनिवार्य घरमै बस्नुपर्ने आदेश हालसम्म जारी गरेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply