खोरिया फाँडेर केरा खेती : बर्षौ बाँझिएको जमिन हरियाली

0

कोरना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापिरुपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौदेखि बाँझोरहेको जमिनलाई हरियाली बनाउन शुरु गरेका छन् ।अध्ययन,रोजगारी,व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिन र खोरियाखर्कहरुमा परिश्रम गरिरहेका भेटिन्छन् ।म्याग्दीको बेनी नगरपालिका,मालिका,मंगला,धौलागिरि,अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले धमाधम केरा,फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँहरुमा वर्षौदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकैका विरुवा हरिया भएका छन् ।काठमाण्डौंबागबजार स्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाईली लकडाउनको कारण गाउँमा फर्किएर वर्र्षैदेखि बाँिझएको बारीमा खनजोत गर्न व्यस्त छन् ।काठमाण्डौंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका २ का गणेश थापा गाउँमा फर्किएको १ महिना भन्दा बढि भयो । यो एक महिनाको अवधिमा उहाँले १४ रोपनी पाखो बारीमा २ सय बढि केराको विरुवा लगाएर भ्याइसकेका छन्।त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्की विद्यालय बन्द भएको अबसरलाई सदुपयोग गरी २० रोपनी भन्दा बढि क्षेत्रफलको खोरिया फाँडेर ५ सय भन्दा बढि केराका बिरुवा लगाएका छन् । बेनी बजारमा इलोक्ट्रोनिक पसल संचालन गरेका बगरफाँटका विष्णु शर्मा (सापकोटा) लकडाउनका कारण पसल बन्द गरेर १२ रोपनी खेत र पाखोमा केराका नयाँ विरुवा लगाउन र पुरानाको गोडमेल गर्न व्यस्त छन् ।रसाईली,थापा,शर्मा र कार्की जस्तै म्याग्दीका धेरै युवाहरु अहिले कृषि कर्ममा खटिएर लागेका छन् ।

कृषिकर्ममा लागेका अधिकांश युवाहरुले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलर लगाएतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन् ।बेनी नगरपालिका ४ सिंगाको फाँटमा गोरुद्धारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्धारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए ।

म्याग्दीका अधिकाँश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ ।
यसरी कृषि कर्ममा लागेका युवाहरुले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाध्यान्नमाथिको परनिर्भरतालाई न्युनीकरण गर्न लकडाउन (बन्दाबन्दी) यो अवधि कोशेढुङ्गा सावित हुने बताउँछन् ।

‘हिजो हाम्रा पुर्वजको माटो सुँहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका वीउविजन संचितीकरण गर्ने ज्ञान र प्रविधिलाई व्युँत्याउन आवश्यक छ।‘ म्याग्दीको बिम स्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत बिनिता शर्माले भनिन् ‘हरित क्रान्ति विकास र समृद्धि होइन हाम्रो परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः व्युँत्याउनुपर्छ।‘

धान फल्ने खेतमा पनि केरा खेती
धान लगाएतका खाद्यान्न बालीबाट भन्दा केराखेतीबाट बढि आम्दानी हुनेभएकाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रा गह्रामा व्यावसायीक रुपमा केरा खेती गरेर आय आर्जन गर्ने माध्यम बनाएका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढि हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमवहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २ सय ५० ओटा केराका विरुवा लगाएका छन् ।
त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने १४ रोपनी खेतमा केराका विरुवा लगाएका छन् ।

‘खेती गर्न झन्झटिलो हुने,कम उत्पादन हुने,खर्च बढि हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतै भरी केरा लगाएको हुँ, थापाले भने । ‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब ९ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । कार्कीले भने ‘अबको दुई वर्ष पछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ ।करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन्। विष्णु शर्मा, अम्बिका शर्मा,सरिता शर्मा,चन्द्रवहादुर घिमिेरे,कृष्णप्रसाद रिजाल,भीमबहादुर कार्की,खिमबहादुर कार्की,दुर्गाबहादुर थापा लगाएतका कृषकले धानफल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी विष्णुप्रसाद शर्माले बताए । यहाँका कृषकले करिब २ हजार केराका विरुवा लगाएका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन् ।

बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् ।
बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हिराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु पाँच लाख विनियोजन भएको छ ।

पहलेको खबरा अहिले बन्यो केरा गाउँ

बेनी नगरपालिका–२ को खबरा गाउँ पहिले खोरिया गाउँ भनेर चिनिन्थ्यो । तर यहाँका वासिन्दाहरुको अथक मिहिनेत र कृषि मोहका कारण अहिले यो गाउँ कृषि गाउँ अझ केरा गाउँको रुपमा चिनिन थालेको छ ।यहाँका सबै कृषकले केरा खेती गरेका छन् । करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ।

धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेर केरा लगाएको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् ।अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकहरुले बताएका छन् । यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्राउने गरेका छ ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए ।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । सापकोटाले भने ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो । कृषि ज्ञान केन्द्र म्याग्दीले पनि किसानहरुलाई फलफूल र तरकारी खेतीमा प्रोत्साहित गरिरहेको छ । तर,स्थानीय निकायले कृषकहरुलाई दिने अनुदानमा भने विभेद गर्ने गरेका गुनासाहरु सुनिएका छन् ।

स्थानीय सरकारले किसानको आर्थिक बृद्धिसँगै आत्मसम्मानलाई उँचो बनाउन कृषक पेन्सन र कृषिलाई पहिलो पेसामा बिकास गर्न दीर्घकालीन योजना बनाउन आवश्यक देखिएको कृषि प्राविधिक शिक्षालय बिमका संयोजक करन कडेलले बताए ।म्याग्दीका वास्तविक कृषकले नामधारी कृषक, पाटीगत कृषक र गुटगत कृषकलाई होइन सही कृषकलाई कृषिअनुदान र सहयोग गर्न, अपारदर्शी कर्मचारीतन्त्र र त्यसभित्रको भष्टाचारलाई निर्मुल गर्नु आवश्यक रहेको बताएका छन् ।

Leave a Reply