एक सातासम्म वर्षाको निरन्तरता

0

नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ । नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ ।

त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ ।पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ । ”पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उहाँले बताउनुभयो तर वर्षाको समयको झरी जस्तो लगातार बर्सिरहने गुण भने यसमा नरहने उनले प्रस्ट्याइन् । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने गर्छ ।

“हाल देखिएको मौसम प्रणालीले विस्तारै प्रिमनसुनलाई मनसुनतिर धकेलिँदै लगेको देखाउँछ । विभिन्न वायु सक्रिय बनेर पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा यो प्रणाली विकसित भएको हो,” मौसमविद् मानन्धरले सुनाइन् । सिजन परिवर्तन हुँदै गर्दा र मनसुनको वातावरण बन्ने क्रममा धेरै किसिमका वायु नेपाल भित्रने गर्छ । जुन वायुले अन्य वायुलाई विस्थापित गर्न सक्छ, त्यो रहन्छ । अन्य वायु कमजोर बन्छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले भनेको छ ।

महाशाखाको अनुसार यस वर्षको प्रिमनसुनको समय गएका वर्षभन्दा फरक रहेको छ । यो मौसममा अनुमान गरे अनुसार पानी नपर्ने, मौसममा परिवर्तन नहुने क्रम विगतमा धेरै देखिएको थियो तर यसपटक अनुमान गरेभन्दा फरक हिसाबले पानी परेको मौसमविद् मानन्धर उल्लेख गर्छिन्। उनले पानी पर्ने प्रवृत्तिलाई जति सक्रिय रह्यो हावाहुरीको प्रवृत्ति भने कमजोर देखिएको बताइन् । ठूलो असिना पानी गत वर्षभन्दा बढी नै परेको अनुमान गरिन् । उनका अनुसार अहिलेको आकाशको बादल र पानी हेर्दा धेरैलाई मनसुनजस्तो लागे पनि यसको वर्षाको प्रकृति भिन्न छ ।

अद्यावधिक प्रणाली अनुसार नेपालमा आउँदो जुन १० देखि मनसुन भित्रने मौसमी क्यालेन्डर छ । यो प्रवृत्ति पनि हरेक १० वर्षमा परिवर्तन हुने गर्छ । अहिले देखिएको प्रणालीले मनसुनका लागि नेपालमा बाटो बनाउँदैछ । प्रिमनसुन सकिँदै गर्दा पूर्वीय वायु सक्रिय हुने र बङ्गालको खाडीलगायतका क्षेत्रबाट भारत हुँदै नेपालमा मनसुन भित्रन्छ ।   गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply