विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको ज्यान गएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि अप्रील २६ मा अस्पताल भर्ना भएका पूर्व गोर्खा नारायण कोन्मे गुरुङको सोमबार मृत्यु भएको हो । कोरोनाको पुष्टि भएका उनको ननिटनको ‘जर्ज इलिएट अस्पताल’मा उपचारको क्रममा मृत्यु भएको हो । नेपालको स्थायी ठेगाना पर्वत भएका ७५ वर्षीय गुरुङ श्रीमती दुई छोरा र एक छोरीसहित बेलायतमा नै बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।