‘गण्डकीका ९ जिल्ला अनुगमनमा बेनीबजार डामाडोल र अव्यवस्थित पाइयो’

0

उपभोक्त मञ्च गण्डकी प्रदेशले म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको जनाएको छ । लकडाउनको समयमा म्याग्दीमा गरिएको अनुगमनमा बेनीबजार डामाडोल र अव्यवस्थित देखिएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाको भनाई उद्धित गदैं अनलाइन खबरले लेखेको छ ।

प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखिएको र सबैभन्दा डामाडोल अवस्थामा बेनी देखिएको अध्यक्ष कोइरालाको भनाई छ । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको पाइएपछि छिमेकी जिल्ला म्याग्दीमा भने अपेक्षा गरेभन्दा भद्रगोल रहेको कोइरालाले बताए । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएकाले त्यहाँको सिको गर्नुपर्ने उनले बताए । बेनी बजारका प्रायः पसलमा कुनैमा मिति गुज्रिसकेको त कुनैमा मिति नै उल्लेख नभएको पाइएको कोइरालाले बताए ।

अन्य ठाउँमा वस्तु पसलसम्म पुग्दा म्याद गुज्रेको पाइए पनि बेनीको बजारमा मुख्य गोदाममै मापदण्ड विपरीत सामान पाइएको कोइरालाले बताए । ‘मुख्य गोदाममै सामानहरु मापदण्डविपरीत पाइनु चिन्ताको विषय हो । त्यहाँका उपभोक्ता नै सचेत हुने बेला आएको छ,’ उनले भने ।कोरोना लकडाउनका कारण अहिले सामानको गुणस्तरताभन्दा पनि सहज प्राप्ति भएकाले व्यवसायीले मनोमानी गरेको कोइरालाले बताए ।

‘बजारका सामान गुणस्तर कसरी व्यवस्थित राख्ने भन्नेमा प्रशासनको मात्रै नभएर स्थानीय जनप्रतिनिधिको पनि भूमिका हुन्छ,’ उनले भने, ‘तर, बेनीमा स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरेको पाइयो ।’मापदण्डविपरीत पाइएका पसल कारबाहीका लागि स्थानीय प्रशासन र जिल्ला अनुमगन समितिलाई आग्रह गरिसकेको कोइरालाले बताए । ‘त्यहाँ कतिपय पसल सिल नै गर्नुपर्ने अवस्थाका छन् ।

कारबाहीका लागि सम्बन्धित पक्षलाई भनिसकेका छौं,’ उनले भने । म्याग्दीमा जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन सहित विभिन्न कार्यहरु गरेपछि बजारमा ब्यापारी नसुध्रिएकाले समस्या आउने गरेको छ । बजारमा हुने अनुगमनमा दिइएको सुझावलाई समेत बेवास्ता गर्ने गरिएकाले प्रदेश र संघीय सरकारका मातहतबाट हुने अनुगमनमा समेत बेनीबजारको ब्यापारिक गतिविधिले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको हो । अनलाइन खबरबाट साभार

Leave a Reply