लिपुलेकमा भारतले सडक खनेपछि स्थानीय प्रशासन नै चकित

0

भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।

गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै सडक बनेको थियो ।

बुदीबाट लिपुलेकसम्म ३६ किलोमिटर दूरी छ । बुदीबाट कालापानी २७ किलोमिटर र सीतापुल १० किलोमिटरको दूरीमा छ । माल्पा र बुदीको ९ किलोमिटर क्षेत्रमा दुवैतर्फबाट निर्माण गत वर्षबाटै सुरु भएपछि करिब एक महिनाअघि सडक जोडिएको व्यासका स्थानीयले बताएका छन् ।

देशकै त्रिदेशीय सीमा नजिक व्यास गाउँपालिका २ दुम्लिङमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज रूपसिंह सावदका अनुसार भारतले लिपुलेक सडक उद्घाटन गरेको यहाँ कसैलाई थाहा छैन । ‘लकडाउनका कारण भारतीय सुरक्षाकर्मीसित समन्वय हुन सकेको छैन, २५ दिनअघि माल्पा बुदी खण्डमा सडक जोडिएको सुनिएको थियो,’ उनले भने, ‘बुदी बजारको घट्टेखोलामा पुल हाल्न बाँकी थियो । त्यसमाथिको लिपुलेकसम्म पहिले नै सडक निर्माण भइसकेको थियो ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply