पर्वतबाट रोजगारीमा गएका मजदुर भारतमा अलपत्र -‘आफ्नै देश पुगेर मर्छौं भन्न पाइएन’

0

कोरोना भाइरस (कोभिड १९) का कारण होटल तथा उद्योगहरू बन्द भएपछि भारतको नयाँ दिल्लीस्थित सकरपुरमा पर्वतका झन्डै ५० जनाभन्दा बढी अलपत्र परेका छन्।महेन्द्रनगर, कास्की, काठमाडौं र दार्जिलिङका १/१ जनाबाहेक अरू सबै पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा हुन्।

गाँस न बासको अवस्थामा पुग्न लागेका सबै जनाको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको सोही समूहमा रहेका नवीन कुमारले बताए। उनका अनुसार अधिकांशले वर्षौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गर्दै आएका थिए भने केहीले विद्युतीय सामग्रीहरू बिक्री गर्ने पसलमा हेल्परको काम गर्ने गरेका थिए।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा भारत सरकारले लकडाउन लागू गरेपछि होटेल, रेस्टुरेन्ट तथा विद्युतीय पसल बन्द भएपछि कार्यरत मजदुर तथा कर्मचारी पनि निकालिए। कामबाट निकालिने बेलामा आफूहरुले पाउनुपर्ने पछिल्लो २ महिनाको तलबसमेत नदिइएका कारण दाल र चामलसमेत किनेर खान नसक्ने अवस्था आइसकेको उनीहरूले बताएका छन्। ‘कामबाट निकालिने बेलामा हामीहरूलाई दुई महिनाको तलब पनि दिइएको छैन। न त साथमा नै पैसा छ अब के गरेर पेट पाल्ने हो? प्राण धान्ने कसरी हो?’ सकरपुरकै ई ब्लक १४३ मा बस्ने कविताले भनिन्, ‘खल्तीमा रुपैयाँ छैन, ओल्लोपल्लोमा मागीअरी चामल मागेर बाँचेका थियौँ, अब यो ब्लकमा बस्ने नेपालीसँग चामल र पैसा सबै सकिएको छ।’

राजदूतावासले रेसपोन्स गरेन

झन्डै ४० दिनदेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र आफूहरू कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको पनि नवीन कुमारको भनाई छ।

आफूहरुको अवस्थाबारे बताउँदै राजदूतावासमा सम्पर्क गर्दा सजिलै फोन नउठेको र उठिहालेमा पनि ‘रेस्पोन्स’ नगरेको पीडितहरूको भनाइ छ। ‘एम्बेसीमा १/२ पटक जसोतसो कुरा हुँदा अर्को नम्बर दिनुभो, अर्कोले अर्को, अर्कोले अर्को नम्बर मात्र दिने रहेछन्। अन्तिममा यो मेरो काम होइन, मबाट यो गर्न सकिन्न भन्दै तर्किए’ नवीन भन्छन्, ‘२ महिनादेखि कोठाको भाडा तिर्न सकेका छैनौँ, मकानवालाले अब भने घरबाट निकालिदिने भनेको छ। हामीसँग पानी खाने पैसा छैन, भाडा कसरी दिउँ?’ भाडा तिर्न नसक्दा अढाई वर्षे बच्चासहित सबै नेपालीहरू सडकमा बेवारिसे भएर हिँड्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।

आफ्नै देश पुगेर मर्न पनि नपाइने भो

मर्नै परे पनि आफ्नै देश पुगेर मर्छौँ भन्दा पनि नपाएको उनीहरूको दुखेसो छ। ‘मेरो नानी ढाई वर्षकी भई उसलाई खुवाउने अन्न समेत सकियो अब, यो के भएको हो? आफ्नै देशमा पुगेर मर्छु भन्दा नि अर्काकै देशमा कुकुर झैँ मर्नुपर्ने अवस्था आयो। नेपालमा त सरकार नै रहेनछ’ अनिता नेपालीले भनिन्।

उनीहरूले आफूहरुको स्वास्थ्य परीक्षण पनि नगरिएको बताएका छन्। कामबाट निकालिएका दिनबाट कोठामा बस्न थालेका उनीहरू अहिलेसम्म पनि उही कोठामा रहेको र स्वास्थ्य परीक्षणको विषयमा भारत सरकार र नेपाली राजदूतावासले पनि वास्ता नगरेको अनिताले बताइन्। ‘हामीहरूलाई स्वदेश फर्काइए हाम्रो सरकारले भनेअनुसार १५ दिन होइन एक महिना क्वारेन्टाइनमा बस्न पनि तयार छौँ।

आफ्नो देश आफ्नो आमा हुन्।’ सी ब्लकमा बस्दै आएका भीमबहादुरले भने, ‘अर्कोको देशमा भोकले मर्नुभन्दा आफ्नै देशमा बौलाउन निको हुन्छ, हामीलाई बचाइदिनपरो। गाउँभर रुवाबासी भएको छ हाम्रो अवस्थाले।’ Source:newsdabali.com

Leave a Reply