वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका एक म्याग्देली साढे दुई दशकदेखि बेपत्ता भएका छन् । सन् १९९४ मा साउदीमा पुगेका म्याग्दी साविकको मराङ गाबिस–२ हाल जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङका ५३ बर्षिय बिरबहादुर जुग्जाली बेपत्ता भएका हुन् ।

साउदी पुगेको केहीबर्षसम्म घरपरिवारसँग सम्पर्कमा रहेपनि त्यसपछि भने उनी सम्पर्क्विहीन बनेको मोना साउदी अरवका बरिष्ठ उपाध्यक्ष सुबोद बरुवालले बेनीअनलाइनलाई बताए । ‘उहाँको खोजीकार्यका लागि परिवारबाट अनुरोध भएको छ,‘धेरै बर्षदेखि सम्पर्क विहिन भएकाले सकेसम्म प्रयास गछौ’ बरुवालले भने ।

न जीवित भएको, न त मरेको केही भन्न सक्ने अवस्थामा नभएको बरुवालले बताए । साउदीमा रहेका म्याग्देलीका साथै नेपालीलाई समेत खोजीकार्यमा सहयोग माग्ने मोना साउदीका महासचिव तिलक पुनमगरले बताए । तत्कालिन समयमा जुग्जाली कार्यरत कम्पनीमा सम्पर्कका साथै बेपत्ता भएको विषयमा जानकारी रियादस्थित नेपाली दूतावासमा समेत जानकारी गराउने मोना साउदी अरबले जनाएको छ ।

कुनै समस्या वा गल्तीले जेलमा समेत परेको अवस्थामा परिवारसँग सम्पर्कविहिन भएको समेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी दुतावासमार्फत सहयोग माग्ने जनाइएको छ । बेपत्ता जुग्जालीका घरपरिवार तथा आफन्तजनले खोजीकार्यमा सहयोगको याचना समेत गरेका छन्।