अखाद्य वस्तुका साथै म्याद नाघेका दैनिक उपभोग्य वस्तु भेटिएको गुनासो आएपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालनमा रहेका विभिन्न खाद्यान्न तथा किराना पसलहरुको तीनदिन देखि लगातार बजार अनुगमन भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि कडाइका साथ बजार अनुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो । ‘अनुगमन अव रोकिदैंन्, बेनीबजार लगत्तै स्थानीय तहको बजारमा प्रवेश गछौं’ सुबेदीले भन्नुभयो ।उहाँका अनुसार तीनदिनमा ८५ वटा सानाठूला पसलको अनुगमन गरिएको छ। लकडाउनको समयमा पनि बढी मूल्य लिएको, म्याद नाघेका सामग्रीहरु बिक्री वितरण गरेको जस्ता गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

खाने वस्तु र पेय पदार्थको म्याद गुज्रिएको भेटिएकाले सर्तकता अपनाउनुपर्नेमा टोलीको भनाई छ । ‘सामान खदिर गर्नु अगाडी म्यादबारे जानकारी लिनुपर्छ,यसका लागि पनि उपभोक्ता र व्यवसायीबीच सचेतना हुनुपर्छ’ अनुगमन समितिका संयोजक समेत रहनुभएका सुबेदीले भन्नुभयो ।अनुगमनका क्रममा हालसम्म बेनीको रेडक्रसमार्ग, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक, कालीपुल, गणेशटोल क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरिएको छ । शुक्रबारसम्म बेनीबजारको अनुगमन सकेर थप योजना बनाउने तयारीमा अनुगमन समिति छ । बजारका रहेका सबै पसलहरुको अभिलेख संकलन गरी धेरै गुनासो आउनेमा कुनैपनि बेला अनुगमन गरिने समितिका एक सदस्यले बेनीअनलाइनलाई जानकारी दिनुभयो । पहिलो चरणमा सचेत गराउँदै म्याद गुज्रिएका सामान जफत गरिएको र अटेर गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी समेत टोलीले दिएको छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका, घरेलु तथा साना उद्योग विकास इकाई, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, म्याग्दी उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ । अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद नाघेका सामानहरु भेटिएको टोलीले जनाएको छ ।कानुनी प्रक्रिया पुरा गरी पसल सञ्चालन गरेको भए पनि केही पसलहरुले भने दर्ता एउटा पसलको नाममा गर्ने र कारोबार भने अर्कै पसल राखेर गर्ने गरेको पाइएको छ । प्रायः पसलहरुमा म्याद गुज्रिएका सामानहरु बिक्री वितरण गरेको, मूल्युसुची अपडेट नगरेको तथा केही पसल भने दर्ताविनै सञ्चालन गरिरहेको जस्ता कमी कमजोरीहरु भेटिएकाले दर्ता नगरेसम्म सञ्चालन नगर्न निर्देशन समेत दिइएको छ ।अनुगमन टोलीले म्याद गुज्रिएका सामानहरुमध्ये चिसो पेयपदार्थ, चकलेटहरु, चिउरा, बिस्कुट, कुरकुरे, लेज, दालमोठ, भुजालगायत जङ्कफुड (वासी खानेकुरा)हरु भेटाएपछि जफत गरेको छ । म्याद गुज्रिएका ती सामानहरु जफत गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।