कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले घरधनीलाई भाडावाला ब्यवसायीको घरभाडा मिनाह र छुट गर्न बैशाख २८ गते जारी गरेको सन्देश लगत्तै बेनी नगरपालिका–७,इन्द्रेणीटोलमा बस्ने राजु राम्जालीले एक महिनाको ४० हजार भाडा मिनाह गरिदिए । उनले सामाजिक सञ्जाल फेसबुकमा म्याग्दी उवासंघको अनुरोधलाई मध्यनजर गरी एक महिनाको भाडा मिनाह गरेको बताए ।

राम्जालीको घर नजिकै रहेका संघमा मार्नाथ सदस्य एवम् समाजसेवी नैनकुमार श्रेष्ठले समेत चैत्र महिनाको आधा भाडा मिनाह गरेको अवस्थामा सटरमा ब्यवसाय गर्ने र कोठामा बस्नेहरूको भाडा मिनाह गरे । बन्दाबन्दी लगत्तै घरभाडामा लिएर व्यापार व्यवसाय गर्नेहरू निकै तनावमा छन् । चैत्र, बैशाख र जेठ महिनाको भाडा ब्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

लकडाउन लगत्तै बेनीबजारमा केही घरधनीहरूले घरभाडा छुट तथा मिनाहा समेत गरेको भएपनि बजारभित्र अधिकांसले भाडा मिनाह नगरेपछि म्याग्दी उवासंघले ब्यवसायीको गुनासो आउन थालेपछि घरधनीलाई स्वेच्छिक रूपमा घरभाडा छुट वा मिनाहा गरिदिन आह्वान गरेको थियो ।

करिब तीन महिना ब्यवसाय नै सञ्चालन नगरी भाडा तिर्न नसकिने अवस्थामा राहत दिन अनुरोध गरिएको संघका महासचिव लिलाराम गौतमले बताए । ‘ब्यवसायीको अवस्था डामाडोल छ,‘ब्यवसाय बन्द गरेर भाडा तिर्न समस्या भएकाले दुवै पक्षबिच समझदारी गरी मिनाह गर्न अनुरोध गरेका छौ’ गौतमले भने ।

संघको आह्वानपछि केही घरधनीले एक महिनासम्मको मिनाह र केहीले प्रतिशत छुट दिएपनि सम्पूर्ण विवरण प्राप्त नभएको महासचिव गौतमको बताए । जिल्लाका ६ वटै स्थानीय तहमा घरभाडा लिएर ब्यवसाय गर्नेलाई भाडा छुट दिएर अभियानमा साथ दिन घरधनीलाई संघले अनुरोध गरेका गौतमको भनाई छ । जिल्ला भित्र भाडामा बस्ने ब्यवसायीको आधिकारिक तथ्याङ्क भने छैन् ।

‘भाडा छुट र मिनाहको घोषणा आफैँबाट गरौं’
म्याग्दी उवासंघले सबै धरधनीलाई भाडा मिनाहा गर्न सार्वजनिक रूपमै अपिल गरेको अवस्थामा संघकै पदाधिकारी, कार्यसमितिका सदस्यहरूबाट उक्त निर्णय अनुसार मिनाह र छुटको घोषणा गर्नुपर्ने देखिन्छ । घरधनी र ब्यवसायी बीच समझदारी गरी मानवीय सहकार्यको नमुना प्रस्तुत गर्न अपिल गरिएपनि संघका पूर्व, वर्तमान पदाधिकारी, कार्यसमिति सदस्यहरूले निर्णयको कार्यान्वयन गरेको देखिएको छैन् ।

संघका सहसचिव नारायण जिसीले लकडाउनको पहिलो महिनामै घरभाडा बापतको १ लाख ३० हजार मिनाह घोषणा गरेका थिए । जिसीसँगै केही ब्यवसायले समेत आफ्नो घरमा भाडामा बस्नेहरूको समस्यालाई मध्यनजर गरी भाडा मिनाह गरेको अवस्थामा उवासंघका पूर्व अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यहरूको घरभाडा मिनाह र छुटको घोषणाले नै यो अभियान प्रभावकारी बन्ने देखिन्छ ।

अपिल जारी गर्ने समयमा संघका चारजना पूर्व अध्यक्ष, १० जना पदाधिकारी सहित ६५ जनाले भाडा मिनाह र छुट घोषणा गर्न आवश्यक छ । संघका पूर्व र वर्तमान कार्यसमितिमा रहेकाहरूको घरमा भाडामा ब्यवसाय गर्नेहरू भएकाले मिनाह र छुटले दिर्घकालिन रुपमै ब्यवसायीका अगुवा नेताहरू फाईदा पुग्छ ।

हरेक सकारात्मक कार्यको सुरुवात हामी आफैबाट गर्नुपर्छ भन्ने मानसिकताले ब्यवसायीको आन्दोलनलाई नै बल पुग्छ । म्याग्दी उवासंघका हरेक अभियानमा भाडावाला ब्यवसायीको योगदान रहेकाले यो अभियानलाई अपिलमा मात्रै सिमित गर्नुहुदैन् ।

यता बजारमा बैङ्कबाट ऋण लिएर घर बनाएका घरधनीको पीडा पनि उस्तै छ । ऋणको ब्याज मिनाहा गरिदिए घरभाडा छुट दिन तयार रहेको बताइरहेको अवस्थामा समस्यामा रहेका घरधनीले मिनाहभन्दा पनि छुट दिएपनि ब्यवसायीलाई राहत हुन्छ । बन्दाबन्दीले व्यापार ठप्प हँुदा घरभाडा तिर्न ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय जनप्रतिनिधिले समेत सहजीकरण गर्नुपर्ने आवश्यकता छ ।