तालमा पात खसे चराले सफा गर्ने र धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरूपमा देखिने पश्चिम म्याग्दीको मालिका-१, निस्कोटमा अवस्थित बराह ताल संरक्षणको पर्खाइमा रहेको छ। साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धनको पर्खाइमा रहेको हो। करिब २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ। समुद्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमश्रृङ्खलाहरू देखिन्छ। त्यहाँबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जन बढी मनोरम हिमश्रृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। तालनजिकै एउटा तामाको घैण्टो (चिन्नो) पनि रहेको छ। घना वनजङ्गल र केही गाउँवस्तीको बीचमा रहेको तालमा वनजङ्गल र हिमालको प्रतिबिम्ब निक्कै आकर्षक अनि मनमोहक देखिन्छ। स्थानीयका अनुसार ताल झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको बताइएको छ। पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ। निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायतमा वडमार्फत समेत बजेट विनियोजन भइरहेको वडा अध्यक्ष टंक पुनले बताए । वनजङ्गलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गरहरू नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको उनको भनाइ छ। तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भित्र्याउन सकिने प्रशस्तै सम्भावना रहेको स्थानीयहरु बताउँछन्।

बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिने बताए ।गाउँको शिरबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरूको आकर्षक र मनमोहक दृश्य समेत देखिन्छ । तस्वीर सौजन्य नविन जुग्जाली