म्याग्दीको मालिका गाउँपालिका-६, दुखु गाउँमा बाँझो जग्गामा धमाधाम तरकारी खेती सुरू गरिएको छ । ‘एक घर एक आत्मनिर्भर’ अभियान अन्र्तरगत स्थानीय सामुहिक तरकारी खेतीमा जुटेका छन् । कोराना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरूलाई समेत सन्देश दिने गरी १ सय ७० रोपनी जमिनमा सामाजिक दुरी कायम गरी नगदे बाली सुरू गरिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो ।

‘उत्पादित बस्तुको बजारीकरणमा पनि सघाउँछौ,‘हरेक घरधुरीलाई ब्यवसायीक कृषिखेतीमा आर्कषित गरेका छौ’ अध्यक्ष सुबेदीले भन्नुभयो । वडाभित्र बाँझो खेतमा सरकारी र खेतीपाती गर्न चाहनेलाई अनुदान सहित वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । समुदायलाई तरकारी खेतीमा आर्कषित गर्न गाउँपालिकाले ३ लाख र वडाबाट समेत ३ लाख गरी ६ लाख विनियोजन गरिएको छ । वर्षौँदेखि बाँझो रहेको जमिनलाई हरियाली बनाउने अभियानमा समु्दायले समेत साथ दिएका छन् । सामुहिक खेतीमा ६ हल गोरुको प्रयोग गरी अभियानको सुरुवात भएको छ ।

अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा प्रदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिनको खोजी हुन थालेको अवस्थामा दुखुका स्थानीयको अभियानले गाउँपालिकाका अन्य वडामा समेत थप सहज हुने बताइएको छ । कृषकको उत्पादनलाई दरबाङ बजारमै खपत गर्न सकिने भएकाले मालिका–६ दरबाङका अन्य बस्तीमा समेत तरकारी, फलफुल खेतीमा समुदाय आर्कषित भइरहेका छन् ।