नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

0

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो ।

मृतक युवक वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको स्वाब परीक्षणको  रिपोर्ट पोजिटिभ आएको छ । ‘यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोभिड–१९ कै कारण भएको पुष्टि भएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने ।

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेका दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको बताएका छन् । कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चाेककी सुत्केरीको कोरोनाका कारण ज्यान गएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ। ३६ जना भने निको भएका छन् ।

 

Leave a Reply