चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामाग्री कोरोना संक्रमण हुने डरले मुस्ताङवासीले अस्विकार गरेपछि कोरला नाकामा नै अडिकएको छ । चीनले पठाएको राहत सामग्री उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनताले लिन अस्विकार गरेपछि सो राहत सामाग्री पाँच दिनदेखि कोरला नाकामा नै रहेको उपल्लो मुस्ताङको लोघ्याघर दामोदर कुण्डका अध्यक्ष तथा नेकपाका नेता राजु बिष्टलाई उद्घृत गर्दै एक स्थानीयले जानकारी दिएका छन् ।

उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रह समेत गरेका छन् । कोरोला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङ मार्फत सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुले राहत पठाएको थियो।

कोरोला नाकाबाट भित्रिएको राहत स्थानियहरुले नलिने सामुहिक निर्णय गरेर सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुलाई खबर समेत गरेका जनाइएको छ ।कोरोना महामारी शुरुवात भएको देशबाट यस बर्ष कुनै पनि राहत नलिने कुरामा लोमान्थाङ गाउँपालिकाका स्थानिय एकमत भएपछि राहत कोरोलामै अड्किरहेको छ ।

चीनले पनि शुक्रवार साँझसम्म राहत सामग्री फिर्ता लगेको छैन ।लोमान्थाङ गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस मुस्ताङका पूर्व सभापति सुवर्ण बिष्टले स्थानिय जनतालाई भेला गरि राहत लिने वा नलिने भन्ने बारेमा छलफल गराएका थिए । स्थानियहरुले राहत नलिने सर्वसम्मत निर्णय गरेपछि राहत सामाग्री नाकामा नै अड्किएको अध्यक्ष विष्टले जनाएका छन् ।

लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका जनताले कोरोनाका डरले चीनले पठाएको राहत सामाग्री नलिदाकोरला नाकामा नै अड्किएको र चीनले पनि फिर्ता नलगेको स्थानीयको भनाइ रहेको छ ।चीनको सीमामा रहेका अधिकारीहरुलाई राहत फिर्ता लिन लोमान्थाङका अध्यक्ष बिष्टले जानकारी गराएका छन् ।
माथिल्लो मुस्ताङमा तल्लो मुस्ताङबाट निर्माण सामग्री समेत लैजान स्थानियले रोकेका छन्।

पहिला जीवन अनि मात्र विकास भनेर स्थानियले तल्लो मुस्ताङबाट सामग्री लैजान समेत रोकेको जिल्ला प्रसासन कार्यालयका एक अधिकारीले बताए । कोरोनाको समयमा किन चीनबाट सामान ल्याएको भनेर उल्टै राहत पाउने भनिएका मानिसहरु नै रिसाएका थिए। चीनले एक हजार बोरा चामल, २ सय बोरा दाल, नुन ३० बोरा, खाने तेल तीन हजार लिटर, चिनी ५० बोरा, साबुन लगायतका सामाग्री पठाएको जनाइएको छ ।

तर मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले राहत सामाग्री स्थानीयले अस्विकार गरेको नभई उपल्लो मुस्ताङका दुई वटै गाउँपालिकाका अध्यक्ष सदरमुकाम जोमसोम भएको बेलमा चीनबाट राहत सामाग्री आएकोले जिम्मा लिने व्यक्ति नहुँदा नाकामा नै राख्नु परेको बताए ।उनले भने ‘राहत सामाग्री स्थानीयले अस्विकार गरेका होइनन् बरु गाउँपालिकाले स्वीकार गर्न ढिलाई भएको हो । यस विषयमा बुझ्नका लागि लोमान्थाङ र लोघ्याघर दामोदर कुण्डका अध्यक्षसंग सम्पर्क गर्दा मोवाइलमा सम्पर्क हुन सकेन ।