म्याग्दीको सदरमुकाम बेनीमा रहेकी सुत्केरीका श्रीमानलाई फोन गदैं ‘दाई भिरकाटे आइपुगे, नआत्तिई बस्नुहोला’ भन्दै फोन गरेको करिव एक घण्टामा दुर्घटनाका खवर आयो । अन्नपूर्ण गाउँपालिकाको हिस्तान र घारको सिमाना आसपासमा आएर उनले सुत्केरीका आफन्तलाई केहीघण्टामै आउने र तत्कालै फर्किनुपर्ने भएकाले तयारी अवस्थामा रहन भन्दै फोन गरेका लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट चालक २१ वर्षीय सुजन विश्वकर्मा सोमबार दिनभरी खोजीकार्य गर्दा समेत भेटिएनन् ।

रघुगंगा गाउपालिका–२, रिठाबोटबाट कालीगण्डकी नदीमा एम्बुलेन्स सँगै बेपत्ता भएका उनको खोजीकार्य भइररहेको छ । अस्पतालबाट नजिकै कालिपुल बसपार्कमा आफन्तको होटलमा सुत्केरीसँगै बसेका परिवारलाई बाटोमा आउँदै गरेको जानकारी दिएका विश्वकर्माको बेनीतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको खवरले सुत्केरीका आफन्त समेत स्तब्ध भए ।

‘ढिलो हुन्छ भनेर बाटोमा फोन गरेर आइरहेको जानकारी दिएका थिए,‘एक्कासी दुर्घटनाको खवर आयो’ सुत्केरीका आफन्तलाई उद्धित गदैं देवि विश्वकर्माले भनिन् । लकडाउनका कारण एम्बुलेन्स बाहेक अन्य सवारीसाधनमा आवतजावतको सम्भावना कम भएकाले एम्बुलेन्स मगाइएको थियो ।उनका अनुसार बेपत्ताको खवर पाएलगत्तै चालकका भिनाजु दुर्गा विक लगायत आफन्त समेत घटनास्थलमा पु्गेर खोजीकार्यमा जुटेको बताईन् । विश्वकर्माले करिब चार महिना अगाडी एम्बुलेन्स चालकको जिम्मेबारी पाएका थिए । उनले कोरोना भाइरस सम्बन्धि आवश्यक उपकरण ल्याउन आवश्यकता अनुसार जोखिम नै मोलेर समेत बेनी, पोखरासम्म पुग्ने गरेका थिए। मेहनती र इमान्दार विश्वकर्माको कामबाट स्वास्थ्यकमी समेत उत्साहित थिए । आइतबार दुर्घटनाको करिब २० मिनेट अगाडी उनले रुघुगंगा–१ तिप्ल्याङमा रहेको प्रहरी चौकीमा समेत सुत्केरी ल्याउन जाने भन्दै सम्पूर्ण विवरण दिएर हिडेका थिए। उसैबीच सोमबार दुर्घटनास्थलबाट करिब ५० मिटर तल एम्बुलेन्स भेटिएपनि विश्वकर्माको अवस्था अज्ञात छ ।