महामारीको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दी (लकडाउन) मा म्याग्दीमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले आलोपालो सेवा दिने ब्यवस्था मिलाइएपनि  सेवाग्राही बीच सामाजिक दुरी काम गर्न असफल भएका छन् ।

कोरानाको संक्रमणको जोखिम क्षेत्रको रुपमा वित्तिय संस्थालाई समेत लिने गरिएको अवस्थामा विश्व स्वास्थ्य संगठनले तोकेको कम्तीमा १ मिटरभन्दा बढी दुरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनमा उल्लेख भएपनि बजारमा खुलेका वित्तिय संस्था भित्र र बाहिर सेवाग्राही खचाखच देखिएका छन्।

समय तालिका अनुसार खुलेका वित्तिय संस्थाको बाहिर खचाखच भिडले समस्या निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन प्रशासनमार्फत पटकपटक जानकारी समेत गराइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।‘तोकिएको मापदण्डलाई पुरा गर्न पटक–पटक निर्देशन दिएका छौ,‘आफै फिल्डमा निस्कन्छु’ प्रजिअ ढकालले भन्नुभयो । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुँदै आएको वित्तिय संस्थामा आलोपालोले सहज हुने भएपनि सामाजिक दुरी कायम गर्न असफल भएमा कार्यतालिका समेत हेरफेर समेत गर्न सकिने भन्दै ब्यवस्थापनमा ध्यान दिन प्रजिअ ढकालले निर्देशन दिनुभएको छ । यता वित्तिय संस्थाका प्रमुखले सेवाग्राहीलाई पटकपटक अनुरोध गर्दा समेत बेवास्ता गर्ने गरेको गुनासो गरे ।‘टोकनको ब्यवस्था गरिएको छ,‘आफ्नो पालोमा आउनुहोस् भन्दा पनि बाहिर गुचुमुच्च बस्नुहुन्छ’ एक वित्तिय संस्थाका प्रबन्धकले भन्नुभयो ।

सेवा लिने समय कम र सेवाग्राही धेरै हुने भएकाले समेत ब्यवस्थापनमा समस्या भएको बताइएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निरन्तर सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ मा समेत सामाजिक दुरी सहित जोखिम कम गर्ने गर्न प्रमुखताका साथ निर्देशन दिइएको छ । म्याग्दीमा सरकारी तथा ठूला निजी बैंक, विकास बैंक र सहकारीले समय तालिका अनुसार कारोबारको आधारमा अनुमति पाएका छन् ।