स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका छन्। धान तथा मकै गोड्ने अहिलेको समय घर नजीकै भए पनि उनीहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा कृषक जान पाएका छैनन्। खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ।

मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिंचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ। “यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो । अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ”, स्याङ्जा, चापाकोट दामाचौरका खगेश्वर कुमालले भने।

चापाकोट नगरपालिकादेखि  गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करीब ३० जनाको हाराहारीमा कृषक छन्। चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुङ्गेपुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ। “खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ ”, कृषक कुमालले गुनासो गरे।

कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान  आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादर कुमाल बताउछन्नु। “खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला”, कुमालले भने।

स्याङ्जा र तनहुँ जिल्ला बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका बढी कृषक छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करीब १२ कृषक  छन्। बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ।

तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ।

तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंँसीलाई कँुडो, घाँसपराल दिन आउन जान समस्या भएको गुनासो गरे। “पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ”, श्रेष्ठ भने।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक एक जना खेतमा आउनेजाने व्यवस्था मिलाइएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यसो भएका भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताउछन्नु। रासस