अहिले विश्वभर मार्सल आर्टका खेलहरुको निकै लगाब देखिन्छ । आत्मरक्षाका लागि विश्वमा अलिक बढी चलेका भनिने मार्सलआर्ट खेलहरु जापान, कोरिया, चीनबाट बाहिर आएका छन् ।

तिनै खेलहरु मध्ये मार्सलआर्टकै एक बिधा क्योकुसिन कराँते खेललाई पहिलो पटक नेपालमा सर्वसाधारणको पहुँच सम्म पु¥याउने काम गर्नु भएको थियो म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका जगतप्रसाद गौचनले । कराँतेको नवौं डान ब्लाक बेल्ड गौचन आफ्नो खेल जीवनमा नेपालकालागि सफल मध्येको मानिनुहुन्छ ।

नेपालका लागि एसिया स्तरको खेलकुदमा पहिलो पटक स्वर्ण दिलाउनुभएको थियो जगत गौचनले । गौचनले वि.सं. २०३९ सालमा पहिलो पटक सर्वसाधारणका लागि मार्सलआर्ट सिकाउन थाल्नु भएको थियो । जगत गौचन भन्नुहुन्छ ‘तत्कालिन धिरेन्द्र सरकार सँग कुरा गरेर राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरेरै मैले दशरथ रंङ्गशालामा खेलाडीहरुई प्रशिक्षण गराउन थालेको हुँ ।’ तत्कालिन अधिराजकुमार धिरेन्द्र शाह संगको सामिप्यताले गर्दा उहाँलाई सर्वसाधारणका लागि खेलकुद व्यवस्था गर्न सहज भएको थियो ।

म्यग्दीमा जन्मेर मार्सल आर्टमा निकै राम्रो दख्खल राख्ने गौचनले हजारौं खेलाडीहरुलाई प्रशिक्षण दिनु भयो भने आफै पनि निकै अब्बल खेलाडी हुनुहुन्छ । औपचारीक अनौपचारीक निकै प्रतियोगिताहरुमा सहभागिता जनाउनु भएका गौचनले नेपाललाई एसिया स्तरको खेलकुदमा पहिलो पटक स्वर्णपदक दिलाउनु भएको थियो । उहाँले आज भन्दा ३८ वर्ष अगाडी अर्थात् सन १९८२ को अल एसियन फुलकन्ट्याक कराँते च्याम्पियनसिपमा स्वर्णपदक जित्नु भएको थियो ।

२०३९ साल सम्म नेपाली सेना तथा नेपाल प्रहरीले मात्र मार्सल आर्टको तालिम लिने गरेको भएपनि तत्कालिन अधिराजकुमार धिरेन्द्र शाह सँगको समन्वय र अनुमतिमा क्योकुसिन कराँते सर्वसाधारणहरुका लागि पनि प्रशिक्षण गराउन शुरु गर्नुभएको थियो जगत गौचनले । नेपालमा मार्सलआर्ट भित्रीएको भएपनि आम सर्वसाधारणका लागि भने जगत गौचनले नै भिœयाउनुभएको ठान्छन् ।

गौचनको सन १९७९ को दोश्रो विश्व च्याम्पियनसिपमा भएको सहभागिता अफिसियल खेलकुदको पहिलो अन्तराष्ट्रिय सहभागिता थियो । त्यस्तै उहाँले १९८३ को विश्व च्याम्पियन सिपमा सहभागि हुँदै प्रि क्वाटर फाइनल सम्म पुग्नु भयो । उक्त प्रतियोगितामा एसियाली देशबाट सबै भन्दा अब्बल प्रदर्शन गर्ने गौचननै हुनुहुन्थ्यो । सन १९८४ को एसियन च्याम्पीयनसिप पछि गौचनले औपचारीक खेलमा सहभागिता जनाउनु भएन ।

मार्सलआर्टका प्रशिक्षकहरुले आफ्नो कलालाई निखार्दै नयाँ स्टाइलका खेलहरु पनि निकाल्ने गर्नुहुन्छ । त्यस्तै नयाँ स्टाइलमा गौचनले पनि ‘बज्र’ मार्सल आर्ट शुरु गर्नुभएको छ । गौचन भन्नुहुन्छ –‘मैले दुई वर्ष अगाडी राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मार्सलआर्ट फेडेरेसनमा दर्ता गराएर यसको कपिराइट शुरक्षीत गरेको छु ।’ उहाँ अहिले बर्ज मार्सलआर्ट विस्तारका लागि नै लाग्नु भएको छ । हाल सम्म बज्र मार्सल आर्ट नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा आफ्नो शाखा विस्तार गरिसक्नु भएका गौचन विश्वभर आफ्नो खेल विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

हालसालै उहाँले जापान र कोरिया जानका लागि योजना बनाउनु भएको भएपनि कोरोना संक्रमणले गर्दा हाल त्यो कार्य केही समयका लागि रोकिएको छ । गौचन भन्नुहुन्छ –‘बज्र गेम नयाँ र सबैभन्दा बैज्ञानिक एवम् प्रभावशाली मार्सलआर्ट हो र यसको संस्थापक म नै हो ।’ अबको दिनमा बज्रलाई नै प्रभावकारी तबरले अगाडी बढाउने योजनामा गौचन लाग्नु भएको छ ।