करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखकी कृशिखा विकको उपचार र शिक्षादिक्षाका लागि खिबाङ समाज यूकेले २ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते अवस्थामा किर्तीपुर हस्पिटलबाट डिस्चार्ड भएकी बालिका र उनको आमालाई डक बहादुर बुदुजाले २ लाख २७ हजार ७७ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको समाजका सदस्य जंगबहादुर पुनले जानकारी दिनुभयो ।

मोना नेदरल्याण्डको अध्यक्ष समेत रहनुभएका पुनका अनुसार दुबै हात गुमेपछि चिन्तित बालिकाको परिवारलाई समाजमार्फत सान्त्वना सहित उक्त रकम हस्तान्तरण गरिएको थियो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र भविस्यमा शिक्षादिक्षामा समस्या हुन नदिन सहयोग गरिएको समाजका अध्यक्ष यू बहादुर गर्बुजाले बताउनुभयो । आर्थिक सहयोग जुटाउन समाजका अमृत गर्बुजाले संयोजन गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले छोरीको उपचार र शिक्षादिक्षामा सहज भएको कृशिकाकी आमा शुसिलाले बताउनुभयो । ‘तपाईहरु जस्तो सहयोगदाताकै कारण छोरीले दोस्रो जन्म लिएजस्तो लागेको छ,‘आर्थिक जुटाउन नसकेको भए छोरीलाई यो अवस्थामा ल्याउन सकिने थिएन’ शुसिलाले भन्नुभयो ।

खिवाङ समाज यूकेले यसअगाडी समेत धेरै सामाजिक एवम् मानवीय सेवामा सहयोग गरेको छ । खिवाङ गाउँमा विकास निर्माण सहितका गतिविधिमा समेत समाजले सहयोग गदैं आइरहेको छ।

विज्ञापन