
भारतबाट भित्रिनेको संख्या बढ्दै गएपछि पर्वत सदरमुकाम कुस्माका मुख्य होटलहरूलाई क्वारेन्टाइन बनाउन थालिएको छ । जिल्ला प्रशासनका अनुसार होटल व्यवसायी र जिल्ला सुरक्षा समितिको छलफलपछि होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न थालिएको हो
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले होटललाई क्वारेन्टाइन बनाउँदा संक्रमण नफैलने र क्वारेन्टाइनको गुणस्तर पनि राम्रो हुने बताइन् । उनीहरूको पीसीआर गरेर मात्रै सम्बन्धित पालिकामा पठाइन्छ । तत्कालका लागि कुस्माको साझा चोकनजिकैको एक होटल र छमर्केस्थित रिसोर्टलाई क्वारेन्टाइन बनाइएको हो ।
ती दुई क्वारेन्टाइनमा ४१ जनालाई राखिएकोमा २९ जनालाई मंगलबार सम्बन्धित पालिकामा पठाइएको छ । होटलको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । होटलसँगै सदरमुकामको शिवालय माविमा निर्माण गरिएको क्वारेन्टाइन सुरक्षाको जिम्मा पनि सेनालाई नै छ । विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेकाहरू भाग्न थालेपछि यहाँ सेनालाई खटाएर कडाइ गरिएको हो । Source: Ekantipur.com