राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कुल जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख व्यक्तिको पीसीआर परीक्षण गर्ने घोषणा गरेका थिए । जसका लागि कम्तीमा ७ लाख न्युक्लिक एसिड एक्स्ट्राक्सन किट, ७ लाख रिएजेन्ट, ७ लाख थान भीटीएम आवश्यक पर्छ । अहिले १२ हजार भीटीएम र ५० हजारवटा मात्र पीसीआर किट मौज्दात छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कुल जनसंख्याको २ प्रतिशतको कोभिड–१९ परीक्षण गर्ने बताए पनि हालकै गतिमा गर्दा यसका लागि ६ महिनाभन्दा बढी लाग्ने देखिन्छ । उनले मुलुकको २ प्रतिशत जनसंख्या अर्थात् करिब ६ लाख नेपालीको कोरोना परीक्षण गरिने घोषणा गरेका थिए ।

‘परीक्षणको यो गतिले प्रधानमन्त्रीको सपना साकार हुँदैन,’ हाल सरदर दिनहुँ ३ हजार नमुनाको मात्र पीसीआर परीक्षण भइरहेको बताउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दरमा निरन्तर परीक्षण जारी रहने हो भने प्रधानमन्त्रीज्यूले भनेअनुसारको परीक्षण गर्न अझै २ सय दिन अर्थात् साढे ६ महिनाभन्दा बढी समय लाग्छ ।’

पीसीआर विधिबाट १० दिनयता (बुधबारसम्म) जम्मा ३१ हजार १ सय ७४ नमुनाको परीक्षण भएको छ । विज्ञहरूले परीक्षण गति नबढाए संक्रमणको गति रोक्न कठिन हुने सुझाएका छन् । बुधबार बेलुकासम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ नमुनाको परीक्षण भएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।