लकडाउनले गाउँपालिकाको केन्द्र दरबाङमा आउन नसक्ने अवस्था छ । कोरोना संक्रमणको जोखिमले घरमै बसेकालाई मालिका गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

लकडाउनका कारण बैंकिङ सेवा प्रयोग गर्न समस्या भएपछि ७ वटै वडामा पुगेर सेवाग्राहीको घरघरमै पुगेर भत्ता बाँडिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।‘यो समयमा भत्ता लिन बैंकसम्म आउने अवस्था रहन्न,‘हामीले विगतमा समेत वित्तिय संस्थालाई नै गाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लगाएका थियौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

उहाँका अनुसार पायक पर्ने ठाउँसम्म आउन नसक्नेलाई घरमै पुगेर समेत भत्ता वितरण गरेको बताउनुभयो।घरदैलोमै भत्ता वितरण गरेपछि उत्साहित भएका छन् । गाउँपालिका भित्रका सातवटै वडाध्यक्ष र सचिवको उपस्थितिमा भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताउनुभयो ।

‘भौगोलिक रूपमा टाढा भएकालाई आगामी दिनमा पनि घरमै सेवा दिन्छौ,‘वित्तिय संस्थाले पनि गाउँमै सेवा दिने प्रतिबद्धता अनुसार काम भइरहेको छ’ विश्वकर्माले भन्नुभयो । गाउँमा गएर सुरक्षा भत्ता वितरण गर्नेलाई बृद्धबृद्धाले समेत धन्यवाद दिएका छन् ।

गाउँपालकाले २९ सय ३८ जनालाई भत्ता वितरण गरेको छ । जसअन्तरगत अन्य जेष्ठ नागरिक १ हजार ७८ जना, दलित जेष्ठ नागरिक ४ सय ३६, एकल महिला १ सय ५२ जना, श्रीमान गुमाएका महिला ३ सय ३१ जना, पूर्ण अपाङ्ता भएका १७ जना, आंशिक अपाङ्ता ९९ र दलित बालबालिका ८ सय २५ जनालाई करि २ करोड २० लाख भत्ता वितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । मालिकामा गरिमा विकास बैंकले वडा नं १,५, ६ र ७ र प्रभु बैंकले २, ३ र ४ नं वडामा भत्ता वितरणको जिम्मा पाएका छन् ।

विज्ञापन