म्याग्दीमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक नलगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लालाई कोरोना भाइरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लामा भित्रिने तरकारी, फलफूल आयातमा रोग लगाइएको भन्ने गुनासोप्रति ध्यानार्कषण भएको बताउँदै तरकारी आयातमा कुनै रोक नलगाइएको सहयाक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जिल्ला बाहिरबाट तरकारी र फलफुल आयातमा रोक लगाइएको भन्दै चर्को मुल्यमा विक्री गर्ने गुनासो आउन थालेपछि शुक्रबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दी बाहिरबाट तरकारी ल्याउन कुनै रोक नलगाइएको बताउनुभएको थियो ।

‘ब्यापारीले नै फैलाएको नियोजित प्रचार जस्तो लागेको छ,‘मुल्यभन्दा धेरैमा बिक्री गर्नेलाई कारवाही गछौं’ प्रजिअ ढकालले भन्नुभयो। तराईलगायत अन्य जिल्लाबाट आयात फलफूल र हरियो तरकारी ढुवानी गर्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रशासनले रोक लगाएकाले स्थानीय तरकारीको मुल्य बढी भन्दै ब्यापारीले विक्री गर्ने गरेका थिए ।

स्थानीय रूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने सहज हुने भन्दै ब्यापारीले नै बाहिरी जिल्लाबाट ल्याउन छोडेर प्रशासनको निर्णय भन्दै प्रचार गरेका थिए । यता तरकारी ढुवानी गर्ने क्रममा आवश्यक सतर्कता अपाउने, चालक बाहेक सहचालकलाई बेनीको नाकामै राखिने, बजारभित्र चालक समेत अनलोड गरेर फर्किने ब्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । तरकारी र फलफुल ढुवानीमा हेल्चेक्राई गरिएमा चालक र ब्यवसायीलाई कारवाही गरिने बताइएको छ ।