गत जेठ ११ गते बुटवलबाट बेनी नगरपालिका–३ भकिम्ली चिनाखेतका एक यूवा लकडाउनका बेला खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएको ट्रकको सहचालक बनेर बागलुङसम्म आए । लकडाउनमा खाद्यान्न ढुवानी गर्ने ट्रक तथा सवारीसाधनमा आवतजावत गर्दा विभिन्न जिल्लामा कुनै समस्या नहुने भएपछि छन्त्याल थर गरेका यूवाले ट्रक चालकले दिएको परिचयमा विभिन्न नाका हुदै आए । उनलाई बाटोमा कुनै समस्या भएन् । पैदलमार्ग हुदै घरसम्म पुगेका यूवाले ट्रकको सहचालकको भेषमा आएको बताए । बारा जिल्लाका सागर चौधरी बिना पास म्याग्दीको धवलागिरी गाउँपालिका–५ धारापानीसम्म पुगे । सामान ढुवानी गर्ने सवारीसाधनको प्रयोग गरी प्रवेश गरेका चौधरीलाई धारापानीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । लकडाउनको समयमा बारा जिल्लाबाट म्याग्दीको ग्रामिण बस्तीसम्म पुग्न उनले ट्रक लगायतका सवारीसाधनमा लुकिछिपी पुगेको स्वीकार गरे । लकडाउनकै अवधिमा जिल्लाको मंगला गाउँपालिका–३ बरंजामा भैरहवाबाट दुईजना महिला पैदल र खाद्यान्न बोकेको ट्रकमा बरंजा खर्क पुगेकालाई स्थानीयले प्रहरीको जिम्मा लगाए ।

भैरहबाटै बरंजा पखेर आएका एक यूवाले समेत खाद्यान्न ढुवानी गर्ने सवारीसाधनको प्रयोग गरेका थिए । अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै विभिन्न जिल्लाबाट चर्को भाडा लिएर मान्छे ओसारपसार गर्ने गरिएको छ । जिल्ला बाहिरबाट म्याग्दीमा आउनेलाई पर्वतबेनी, मिलनचोक, फर्से लगायतका क्षेत्रमा छोडेर खाद्यान्न लिएर बेनी आउने गरेका ट्रक चालकले साविकको सार्वजनिक यातायातको भाडाभन्दा चारगुणा बढी असुल्ने गरेका छन् । ‘कोराना जोखिम क्षेत्रबाट आएका मात्रै पाँचजनालाई समुदायको सहयोगमा क्वारेन्टाइनमा राखियो,‘सबैले खाद्यान्नको सवारीसाधनमै आएको बताउनुभएको थियो’ नेपाल यूथ काउन्सिलका बरंजा प्रतिनिधि हरि कँडेलले बेनीअनलाइनलाई भने । उनका अनुसार म्याग्दीमा प्रवेश गरेपछि पैदल र त्यहाँभन्दा उताका जिल्लामा सवारीसाधनको प्रयोग गरेको पाइएको बताए ।

ट्रक सहित अन्य ढुवानीमा प्रयोग हुने सवारीसाधनका चालकले मान्छे ओसारेर राम्रो कमाई गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन जारी छ तर उक्त लकडाउनको उल्लङ्घन गर्दै यात्रु ओसार्ने गरेको गुनासो अनुसार तीनवटै जिल्लाले समन्वय गरी छड्के गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

‘हामीले छड्के अनुगमन सुरु गरेका छौ,‘ अत्यावश्यक खाद्यान्न ढुवानी लेखेको सवारीसाधनमा मान्छे ओसारेको पाइएमा कडा कारवाही गछौं’ प्रजिअ ढकालले भने । लकडाउनको अवधिभर सवारीसाधनलाई प्रहरीमै राखेर थप कारवाही गरिने प्रजिअ ढकालले बताए । पैसा आउने लोभमा चालकले जोखिम निम्त्याउन सक्ने भन्दै चेकजाँचमा कडाई गर्न समेत निर्देशन दिइएको छ ।