लकडाउनको नाममा प्रहरीले हातपात गरेको भन्दै महानगर सरसफाइ गर्ने कर्मचारीहरु आन्दोलनमा उत्रेपछि वीरगञ्ज दुर्गन्धित बनेको छ ।

पर्सा प्रहरीको ज्यादति विरुद्ध सरसफाई कर्मचारीहरु आन्दोलनमा उत्रेपछि वीरगञ्ज महानगरको फोहर दुई दिनदेखि उठ्न सकेको छैन ।

जसको कारण महानगरको चोक, गल्ली गल्लीमा अहिले फोहरको डुँगुर थुप्रिएको छ। वीरगञ्ज पावरहाउस चौक, मुर्ली, श्रीपुर, घण्टाघर, माईस्थान, आर्दशनगर, नारायणी अस्पताल नजिकै मेनरोड, छपकैया, नगवा लगायतको क्षेत्रमा दुईदिनमै फोहोरको डुंगुर थुप्रिएको छ ।

फोहोर उठाउन सडकमा निस्कँदा प्रहरीले लकडाउन उल्लघंन गरेको भन्दै कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मीहरू शनिबारदेखि काम ठप्प पारेर हडतालमा उत्रेका छन् । वीरगन्ज महानगरपालिकाले ठेक्का र आफना कर्मचारी मार्फत महानगरको फोहोर उठाएर ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्दै आएको छ ।

सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न थालेपछि सरसफाइकर्मीहरू काममा नआएको महानगरका सरसफाई व्यवस्थापन शाखाका सहायक प्रमुख सर्फुद्दिन मियाँले बताए ।

बिहिबार सरसफाई कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले हातपात गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेपछि त्यहि दिन सफाई कर्मचारीहरुले फोहोर उठाउन छाडेका थिए ।

लगत्तै नगर प्रमुख विजय सरावगीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग समन्वय गरेर त्यसदिन सफाई कर्मचारीलाइ काममा फर्काएका थिए । तर शुक्रबार साँझ पुनः ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईट तिर लैजाने क्रममा माईस्थान चोकमा प्रहरीले सरसफाई कर्मचारीलाई अवरोध गर्दै दुव्र्यवहार तथा कुटपिट गरेको थिए ।

प्रहरीको हातपातबाट ट्याक्टर चालक वीरगञ्ज २४ बहुअरीका बृजकिशोर कुशवाहाको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । खुट्टामा चोटपटक लागेका कुशवाहालाई एडभान्स मेडिकेयर अस्पतालमा उपचार भई घर फर्केका छन् ।

पटक-पटक प्रहरीबाट अवरोध, दुव्र्यवहार र हातपात हुन् थालेपछि सरसफाइकर्मीहरू फोहोर उठाउन छाडेर हड्तालमा बसेका हुन् । कोरोनाको महामारीका बखत ज्यान जोखिममा राखेर खटिएका सरफाइकर्मी माथि प्रहरीले पटक पटक अनावश्यक दुव्र्यवहार र अवरोध गरेकाले काम गर्न समस्या भएको सरसफाई कर्मचारीको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटक पटक अवरोध गर्दै आएको बताए । कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अवरोध र दुव्र्यवहार गरेको चार पटक भइ सक्यो, प्रशासन र प्रहरी प्रमुखलाई भन्दा पनि नटेरेकोले बताए ।

प्रहरीका कारण नै शनिवार देखि सरसफाइ कर्मचारीहरु काममै आउन नमानेको उनको भनाई छ । अत्यावश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट छन् । कहिले स्थास्थ्यकर्मी, कहिले सरसफाईकर्मी त कहिले सञ्चारकर्मीमाथि प्रहरीले पटक पटक दुव्र्यहार गर्दै आएको छ ।