कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले कालिकोटमा पहिलोपटक १७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शनिबार बेलुकी स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले प्रेस विज्ञाप्ती मार्फत कालिकोटका १७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

भारतका विभिन्न शहरबाट आएका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो । पहिलोपटक संक्रमणको पुष्टि भएपछि कालिकोटमा सन्त्रास छाएको छ । शुभकालिका गाउँपालिकाका १२ जना र महाबै गाउँपालिकाका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

२ हजार ८ सय ९७ जना क्वारेन्टाइनमा भर्ना भएका मध्य १ हजार २ सय ३ जना डिस्जार्च भइ सकेको जिल्ला जनस्वास्थ्य प्रमुख कटक महतले बताउनु भयो । भारतका विभिन्न ठाउँबाट आएका १ हजार ६ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा विभिन्न स्थानमा राखिएका हेल्थ डेस्कबाट १२ हजार ५ सय ७१ जनाले सेवा लिएका छन् ।

हालसम्म जिल्लामा १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरिएको छ भने ५ सय २९ जनाको आरडीटी किटबाट परिक्षण गरिएको छ । आरडीटी परिक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको र पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ । यहाँका ९ वटा स्थानीय तहमा २ हजार ७ सय ७० वेड क्षमताका १९ वटा क्वारेन्टाइन बनाइएका छन् ।