विषालु घाँस खाएर म्याग्दीको मंगला गाउँपालिका-१ खानीगाउँमा एक दर्जनभन्दा बढी बाख्रा मरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कुवेतबाट फर्किएका याम बुढाथोकी मगरले पालेको बाख्रा लुर्के नामक विषालु घाँस खाएर गोठमै मरेको, बिरामी भएको अवस्थामा भेटिएका थिए ।

सन् २००२ देखि विभिन्न खाडीमुलुकमा बसेर बाख्रापालन र फलफुल खेती गर्ने भन्दै गाउँ फर्किएर ब्यवसायीक बाख्रापालन सुुरू गरेका बुुढाथोकीले चरनक्षेत्रबाट फर्किएपछि गोठ र उपचारको क्रममा १६ वटा मरेको बताए । चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो ।

‘बाख्रापालनको ठूलो योजना थियो, पहिलो प्रयासमै असफल भएको महसुस गरे, अझैपनि आफ्नो योजनालाई निरन्तरता दिने प्रयासमा छु’ बुढाथोकीले भने । उनले विषालु घाँस खाएर बोयर, जमुनापारी, स्थानीय जाताका बाख्रा गरी करिब दुई लाखको नोक्सानी भएको बताए ।

१३ लाखको लगानीमा खोर ब्यवस्थापन सहित बोयर सहित ३२ वटा बाख्राबाट ब्यवसायीक पालन सुरु गरेका बुढाथोकीले चरनक्षेत्रमा विषालु घाँस पन्छाउनै समस्या हुने गरेको बताउँदै मंगला गाउँपालिकाबाट खटिएका प्राविधिकलाई समेत क्षती सहित समस्याका बारेमा जानकारी गराएका थिए । चरन क्षेत्रमा पाइने विशाक्त घाँसकै कारण म्याग्दीा बाख्रापालक कृषकलाई क्षती हुने गरेको छ ।

विज्ञापन