रोजगारको सिलसिलामा इजरायलमा रहेका दुई म्याग्देली चेलीले सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरू र एक संक्रमितलाई भोजन गराउन ७० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसमा राखिएकालाई अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाकी तारा गर्बुजाले ५० हजार र अन्नपूर्ण–७ घराम्दी घर भई हाल इजरायलमा रहनुभएकी मायाँ गर्बुजाले २० हजार सहयोग गर्नुभएको हो ।

सहयोग रकम सोमबार एक कार्यक्रमका बीच नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुबेदी, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कोभिड–१९ कमाण्ड पोष्टका संयोजक समेत रहनुभएका प्रजिअ ढकालले सहयोग रकमले बेनीका क्वारेन्टाइनमाका साथै आइसोलेसनमा रहेका एक संक्रमितलाई भोजनमा खर्च गर्ने बताउनुभयो ।