उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बाहिरी जिल्लाबाट छिर्न झन कडाइ गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण जोखिम बढ्दै जान थालेपछि जोखिमलाई मध्यनजर गरी स्थानीयले प्रवेशद्धारबाटै फर्काउन थालेका छन् । निलगिरी हाइड्रोपावर कम्पनीद्धार निर्माणधिन अवस्थामा रहेको ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेडमा काम गर्न धादिङ लगायत विभिन्न जिल्लाबाट आएकाबाट कोरोनाको जोखिम बढ्ने भन्दै प्रवेशद्धारबाटै फिर्ता गरिएको अन्नपूर्ण यूवा क्लव नारच्याङका सचिव अमित गर्बुजाले बताए । ‘यस्तो जोखिम अवस्थामा जिल्लाबाहिरबाट हुलका हुल प्रवेश गर्नु नै जोखिम हो,‘फिर्ता पठाइदिएका छौ’गुर्बजाले भने । उनका अनुसार दुईवटा जीपमा आएका २८ जनालाई फिर्ता पठाइएको बताए । कोरोनाको जोखिम नभएका जिल्लाको नाम लिएर प्रवेश गर्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

नारच्याङका निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा तराई लगायतका जिल्लाबाट समेत मजदुर आउने गरेकाले कोरोना संक्रमण हुनसक्ने भन्दै स्थानीयले लकडाउन सुरु भएलगत्तै छिमेकी वडाबाट समेत अपरिचित ब्यक्ति प्रवेशमा रोक लगाउने गरी ४६ दिन लकडाउन गरेका थिए ।

नारच्याङमा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणमा तराईका विभिन्न जिल्लाबाट समेत मजदुर आउने गरेको अवस्थामा विकासको नाममा सहजै प्रवेश दिदाँ कोरोना संक्रमणको जोखिम उच्च भएकाले करिब दुईहप्ता बाहिरी जिल्लाबाट कामदार नल्याउन समेत सम्बन्धित जलविद्युत आयोजना कम्पनीलाई निर्देशन दिएका छन् ।

जलविद्युत कम्पनीले विभिन्न बाहना बनाएपनि स्थानीयले अडान लिएपछि सबै मजदुरलाई बेनी फिर्ता पठाइएको छ । नारच्याङमा हाल १० जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको कार्य अन्तिम चरणमा छन् । नारच्याङमा कारोना बिरुद्धको अभियानमा स्थानीय सहित जनप्रतिनिधि समेत सक्रिय भएपछि प्रवेशमा कडाई गरिएको छ ।