लडकडाउन अवधिको ब्याज मिनाह गर्न म्याग्दी उद्योग वाणिज्य संघले वित्तिय संस्थालाई अनुरोध गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै सरकारले गरेको लकडाउनले ब्यवसाय बन्द हुदाँ वित्तिय संस्थाको किस्ता, ब्याज समयमै भुक्तानी गर्न असहज भएको भन्दै सर्वसाधारण देखि उद्योगब्यवसायीको लकडाउन अवधीको ब्याज मिनाह गरी सहज वातावरण बनाउन अपिल गरेको हो ।

संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले लामो समयको लकडाउनले ब्यवासय नै धरासायी बन्दै गरेकाले सबै प्रकारको ब्याजदरमा भारी छुट सहितको अनुरोध गरिएको बताए। ‘आयात ठप्प छ,‘लकडाउनले अस्तब्यस्त अवस्थामा वित्तिय संस्थाको छुटले आगामी दिनमा सहज हुन्छ’ कर्माचार्यले भने ।

उनले लकडाउन अवधिको विद्युत, टेलिफोन, खानेपानी, इन्टरनेट, महसुल तथा मुअकर, आय कर, शुल्क दस्तुर तथा जरिवाना मिनाहका लागि जिल्लाका सबै वित्तिय संस्थामार्फत केन्द्रिय कार्यालयमा अनुरोध पत्र पठाउने बताए ।

‘अहिले सहज वातावरण बनाएमा सबैभर ब्यवसायीले सहज काम गर्न पाउँछन्,‘लामो लकडाउनबाट पुगेको असरलाई ध्यान नदिदाँ पलायनको जोखिम छ’ कर्माचार्यले भने । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको ज्ञापनपत्रमा ब्यवसायीलाई राहत प्याकेज घोषणा सहित तिरेको कर अनुसारको सहुलियतको ब्यवस्था गर्न समेत माग गरिएको छ । लकडाउन लम्ब्याउने काममात्र गरेको समाधान दिन नसकेको भन्दै व्यवसायीले गुनासो समेत गर्ने गरेका छन् ।