म्याग्दीको सदरमुकाम बेनीमा नेपाली एक हजार रुपैयाँका नक्कली नोट भेटिएको छ । बेनी नगरपालिका–८, अस्पताल चोकमा रहेको नेशनल ड्रग सेन्टरमा सेवाग्राहीले दिएको सङ्केत नंवर (छ५९) ४९५०७१) नं को नक्कली नोट भेटिएको हो ।

सेवाग्राहीले दिएको नोट लिएर एनसिसी बैंक बेनी शाखामा चेकजाँच गर्ने क्रममा संकास्पद देखिएको सञ्चालक शम्भु पाण्डेले बताउनुभयो । सेन्टरमा कार्यरत कर्मचारीले बैंकमा खुद्रा पैसा लिन गएको बेलामा नोट संकास्पद भएको भन्दै बैंकले थप परीक्षणका लागि राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा पठाउने भएको छ ।

भेटिएको नक्कली नोटमा लालीगुँरास छैन भने नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का समेत नभएको र पातलो भएको बैंकका कर्मचारीको भनाई छ । कोरोना भाइरसबाट जोगिन नेपाल सरकारले जारी गरेको लकडाउनको मौका छोपी नक्कली नोटका गिरोह सक्रिय हुनसक्ने भन्दै सचेत हुन अपिल गरिएको छ ।

प्रहरीले नक्कली नोटका बारेमा अनुसन्धान सुरु गरेको छ । भिडभाड हुने ठाउँमा नक्कली नोटको प्रयोग गर्दा पहिचान नहुने भएकाले पनि गिरोहले अस्पताल सहित धेरै चहलपहल हुने क्षेत्रलाई प्रयोग गर्न सक्ने अनुमान समेत गरिएको छ ।