म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा बुधबार १ नम्बर वडा रत्नेचौर क्षेत्रमा स्थलगत अनुगमनको कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालसहितको टोलीले रत्नेचौरको विभिन्न क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन गरेको हो । उक्त टोलीले रत्नेचौरमा सञ्चालित खोप केन्द्रको स्थलगत अनुगमन गरिएको जनाएको छ ।

रत्नेचौर स्वास्थ्यचौकीमा रहेको खोप केन्द्रका साथै रत्नेचौर खेलमैदान पुनर्निर्माण योजना, सारेमारे लिफ्टिङ सिँचाई तथा ‘एक घर, एक धारा’ खानेपानी योजनको अनुगमन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।रत्नेचौर स्वास्थ्यचौकीमा भएको कार्यक्रममा खोप केन्द्रको जानकारी लिनुका साथै स्वास्थ्यचौकीको अवस्था, सेवा प्रवाह, औषधीलगायत उपकरणको उपलब्धताका बारेमा जानकारी लिइएको थियो ।

कार्यक्रममा स्वास्थ्यचौकीका इन्चार्ज होमनाथ गौतमले स्वास्थ्यचौकीबाट भैरहेको सेवा प्रवाहलगायत कोभिड–१९ का विरुद्ध गरिएका स्वास्थ्यसम्बन्धी गतिविधिको रिपोर्टिङ गरेका थिए । उनले रत्नेचौर छिमेकी बागलुङ जिल्लाको सीमा नाका क्षेत्र भएको हुँदा स्वास्थ्यचौकीमार्फत म्याग्दी प्रवेश गर्नेहरुको नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्ने गरिएको बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाएर काम गर्न सुझाव दिए । सोही अवसरमा रत्नेचौर स्वास्थ्यचौकीलाई उत्पन्न फोहोरमैलाको उचित तरिकाले व्यवस्थापन गर्न निर्देशन समेत दिइएको छ भने स्वास्थ्यचौकीमा नयाँ साइनबोर्ड टाँसिएको थियो ।

यसैगरी चालु आर्थिक वर्षमा सङ्घीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँ बजेटको लागतमा पुनर्निर्माण सुरु गरिएको रत्नेचौर खेलमैदानको समेत अनुगमन गरिएको छ । रत्नेचौर खेलमैदान उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको खेलमैदानमा ६० मिटर लम्बाई, ४ मिटर २० सेन्टिमिटर चौडाई र ६ फिटको उचाइको प्याराफिट निर्माणकार्य अगाडि बढाइएको निर्माण समितिका अध्यक्ष गणेश बोगटीले जानकारी दिए ।

सोही क्रममा बेनी नगरपालिकाको सहयोगमा रत्नेचौरका अगुवा कृषक समूहलाई मिनी टेलर हलो समेत वितरण गरिएको छ । बेनपाको छ लाख ८० हजार र अगुवा कृषकको ५० प्रतिशत लागत साझेदारीमा रत्नेचौरका अगुवा कृषकहरुलाई लक्षित गरेर २९ ओटा मिनी टेलर हलो वितरण गरिएको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताएका छन् ।

त्यस्तै तरकारी ब्लक अन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीबाट प्राप्त १० ओटा टेलरमध्ये अर्जममा ३ ओटा र रत्नेचौरमा ७ ओटा वितरण गरिएको छ । उक्त मिनी टेलर हलो नगर प्रमुख श्रेष्ठ र उपप्रमुख बरुवालले कृषक समूहलाई वितरण गरेका थिए ।

अनुगमन कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली, वडानम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र स्वास्थ्य संयोजक लिला गौतमसहितको सहभागिता थियो । यसअघि बेनी सामुदायिकको नवनिर्मित विद्यालय भवन तथा बेनीका क्वारेन्टाइन स्थलको अनुगमन गरिएको थियो ।