म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो ।आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको बोका खबराबाट खरिद गरी वितरण गरिएको हो ।

वडा समितिले निर्णय गरी छनोट गरे अनुसार गाउँपालिका र घरेलुमा दर्ता गरिएका बाख्राफार्महरुलाई अघिल्लो वर्षको नदोहोरिने गरी उन्नत जातको बोका वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार हाल व्यवसायिक रुपमा बाख्रा पालेका कृषकलाई आफ्ना बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउनका लागि निशूल्करुपमा बोका वितरण गरिएको हो ।

निशूल्क बोका पाउनेहरुमा वडा नं १ का बेगबहादुर पुर्जा,२ का कमल पुर्जा,वडा नं ३ का नगेन्द्र पुर्जा,४ का तुलाराम बूढा,५का जसबहादुर तिलिजा,६का टेकबहादुर बरुवाल,७ का बालकुमार पुर्जा र वडा नं ८ का हेमन्त तिलिजा रहनुभएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।अन्नपूर्ण गाउँपालिका व्यवसायिक बाख्रा पालनको दृष्टिकोणले अत्यन्त सम्भावना युक्त क्षेत्र भएकोले किसानको आयस्रोत वृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष गर्वुजाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विज्ञापन