सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा आजबाट उद्धार सुरु गर्दैछ ।कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नेपालीहरुलाई प्रथम चरणअन्तर्गत दुबई र म्यानमारबाट उद्धार कार्य थालनी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताउनुभयाे । आज ३ सय नेपालीकाे उद्धार गरिने बताइएकाे छ ।

घिमिरेका अनुसार दश दिनसम्म लगातार दैनिक एक विमानमार्फत खाडी मुलुक तथा अन्य मुलुकबाट नेपालीहरुको उद्धार गरिने छ । उद्दार गरिएकालाई सरकारले प्रदेशगतरुपले विभिन्न पार्टी प्यालेसमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राख्नेछ ।

श्रम र परराष्ट्र मन्त्रालयका अनुसार कतार, मलेसिया, साउदी अरव, यूएई, बहराइन र ओमानबाट जम्मा ३९ हजार ४ सय २० जनाको उद्दार गरिँदैछ । जसमध्ये यूएईबाट १७ हजार ३ सय ७५ जना, कतारबाट ८ हजार ३ सय ७० जना, साउदी अरबबाट ६ हजार ५ सय ४४ जना , मलेसियाबाट ६ हजार २ सय, ओमानबाट ६ सय ५६, बहराइनबाट २ सय ८५ जना र कुवेतबाट आममाफी पाएका ३ हजार र अन्य ५ हजार नेपाली फर्किनेछन् ।स्वास्थ्य मन्त्रालयले नेपाल फर्कनका लागि उनीहरु सबैको स्वास्थ्य रिपोर्ट नेगटिभ हुनुपर्ने यसअघि नै जनाएको छ ।