????????????????????????????????????

माओवादी जनयुद्दको उदगम्थलो रोल्पा–रुकुम । क्रान्तिकारीहरूको भूमि । पर्यटकलाई १० वर्षे जनयुद्दको अध्ययन गर्न, प्राकृतिक छटाहरूमा रमाउन र मगर संस्कृतिको स्वाद चाख्न गुरिल्ला पदमार्ग एक्सप्लोर गरिएको हो । युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको छ ।

विद्रोही जनताका व्यथा, मगर संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुरिल्ला पदमार्गमा पर्यटन दिगो शान्तिको आधार बन्न सक्छ ।

यस पदमार्गमा धेरै अध्येताहरू हिँडिसकेका छन् जहाँ हिजो माओवादीले परेड खेलेका मैदान, बनाएका बंकर, जनबादी पुस्तकालय, उनीहरूले बनाएका चौतारा, पाठशाला, गोरेटा, बैठकस्थल, आश्रयस्थल लगायतको अध्ययन गर्न सकिन्छ ।

त्यति मात्र होइन, हिजो युद्दमा लडेका क्रान्तिकारीहरूसँग इतिहासबारे सोधखोज गर्न पनि सकिन्छ ।

पदमार्गको ब्राण्डिङ गर्न, रुट बनाउन र प्रचार गर्न चेन्जिङ नेपालले महत्वपूर्ण योगदान गरेको छ । पदयात्राका लागि दुई देखि तीन हप्ताको रुट बनाइएको छ ।

एउटा रुट–बेनी, दरबाङ,जलजला, ढोरपाटन, थांकुर, पेल्मा, मैकोट, हुकाम, छिपखोला, स्यार्पु, छिपिदह हुँदै खलंगासम्म पदयात्रा ।

अर्को रुट–रोल्पाको सुलिचौर, जेल्बाङ, जलजला, थबाङ, लुकुम, तक, ढोरपाटन, जलजला, लमसुम तकाम हुँदै बेनी । त्यस्तै तेस्रो रुट–सुलिचौर, जेल्बाङ, जलजला, थबाङ, महत, चुनबाङ पुग्ने ।

अचेल थवाङ, जेल्बाङ लगायत धेरै ठाउँमा सडक सञ्जाल जोडिइसकेको छ । धमाधम पदमार्ग छोट्टिँदैछन् । त्यसैले थोरै दिनमा पनि घुम्न भ्याइन्छ ।

वर्षैभरि गुरिल्ला पदमार्गमा यात्रा गर्न सकिन्छ । मनसुनमा यात्रा गर्दा बेग्लै आनन्द आउँछ । असार १ गतेदेखि पदमार्गका मगर गाउँमा भूमे पूजा गरिन्छ । जेल्बाङ गाउँमा २ दिन र थबाङमा ५ दिनसम्म पूजापाठ, नाचगान र खानपिन गरी भूमे पर्व मनाइन्छ ।

जनयुद्धमा लागेका नेताहरू गणेशमान पुन, प्रबेश रोका लगायतले गुरिल्ला पदमार्गको विकासमा सक्रिय छन् । पदमार्गमा युद्ध पर्यटनको झल्को दिन लडाईँ भएका, हतियार बनेका ठाउँ संरक्षण जरुरी छ । संघर्षका कथा समेटेर गाउँ–गाउँमा संग्रहालय खुल्नु पर्छ ।

गुरिल्ला पदमार्ग नेपालको पर्यटनमा युनिक प्रोडक्ट हो जहाँ जनयुद्धको इतिहास मात्र होइन, प्रकृति र संस्कृतिको भण्डारै पाइन्छ । अर्को कुरा पदमार्गका गाउँलेहरू फरासिला, आत्मीय र सहयोगी छन् । त्यसैले त्यहाँ दोहोर्‍याएर पुगौंपुगौं जस्तो लाग्छ ।

गुरिल्ला पदमार्गको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धनमा ट्राभल राइटर सुरेन्द्र राना सक्रिय छन् । पर्यटनकर्मीका माझमा उनले ‘गुरिल्ला’ उपनाम पाएका छन् । त्यसैले गुरिल्ला पदमार्गको यात्रामा निस्कनु अघि रानालाई ९८४१३०१३७४ मा सम्पर्क गर्दा सजिलो हुन्छ है । पदमार्गमा माओवादीले म्याग्दी र रुकुमको सदरमुकाम आक्रमणका क्रममा बनाएको तालिम केन्द्र, सैन्य अभ्यास, माओवादी नेताहरुको बासस्थान लगाएत समेत पर्ने भएकाले पनि खानेपानी, शौचालय सहितका आवश्यक पुर्वाधार तत्काल आवश्यकता रहेको  खोज अनुसन्धानकर्ता रानाले बताए ।

गुरिल्ला पदमार्गका अभियन्ता सुरेन्द्र राना ‘गुरिल्ला’

कसरी पुग्ने: काठमाडौंबाट रोल्पाको सुलिचौरसम्म बसमा । सुलिचौरबाट जेल्बाङसम्म जिपमा । जेलबाङबाट जलजला, थबाङ, रुकुम, ढोरपाटन हुँदै दरबाङसम्म पदयात्रा । दरबाङदेखि पोखराहुँदै काठमाडौं बसमा । barnanmedia.com

विज्ञापन