गण्डकी प्रदेशमा शनिबार बिहानसम्म थप १७ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ ।

स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

याेसँगै गण्डकीमा संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।

ग्रिनजाेनमा रहेकाे कास्कीबाट काठमाडाैं लगिएका १ पुरुषमा काेराेना संक्रमण पुष्टि भएसँगै पाेखरा र आसपासमा त्रास बढेकाे छ ।

निर्देशनालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका ८ पुरुष र हरिनास गाउँपालिकाका २ पुरुष गरी थप १० जनामा काेराेना पुष्टि भएकाे छ ।

पोखरा महानगर पालिकाका ५९ वर्षीय १ पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय २ पुरुष गरी कास्कीमा ३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।

गण्डकीका मनाङ र मुस्ताङवाहेक सबै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । समाधानन्युजबाट