पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको तीनवटा तामाखानी संरक्षण र उत्खननको पखाईमा छन् । धारापानी गाउँको शीरमा अवस्थित डुङडुगे, मसिनखानी, तोपाखानी वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सम्बन्धित निकायको बेवास्ताका कारण प्रयोगविहिन अवस्थामा रहेको स्थानीय तेजेन्द्र थापाले बताए । ‘यहाँको खानी प्रयोगमा ल्याउन सकिन्छ,‘सम्बन्धित निकायले उत्खननमा चासो देखाउनुपर्छ’ थापाले भने । उनका अनुसार खानीको पहिचान र संरक्षणका लागि योजना बनाएर अगाडी बढ्न सकेमा खानी आसपासका क्षेत्रलाई पर्यटकीय गन्तब्य समेत बनाउन सकिने बताउनुभयो । धारापानीबाट करिब आधा घण्टाको पैदलयात्रामा पुगिने उक्त स्थानमा पुरानो खानीमा जाने बाटो पुरिएको छ भने दुईवटा खानीमा सहजै पुग्न सकिन्छ । पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुंगा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेको स्थानीय किरण थापाले बताए । उनका अनुसार तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो र कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन रहेको थियो ।‘समुदायले सञ्चालनको प्रयास गरेका छन्,‘सम्बन्धित निकायलाई वास्ता छैन्’ थापाले भने। खानी खनेर सञ्चालनमा ल्याउन सकिएमा रोजगारसँगै सरकारको आम्दानी समेत बढ्ने उनले बताए । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैन्। धारापानी, मच्छिम लगायत आसपासका खानीहरु लामो समयसम्म सञ्चालन भएपनि तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको स्थानीय बूढापाकाको भनाई छ ।

खानी उत्खनन गर्न तयार गरिएको लामो सुरुङ भित्र बस्ने ठाउँ छ भने बाहिरै प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका देखिन्छ। जिल्लाको बेनी नगरपालिका सहित पाँचवटै स्थानीयतहमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिएका छन् । खानी सञ्चालनमा स्थानीय सरकारसँग समेत कुनै योजना छैन् ।