जिल्लाको मालिका गाउँपालिका–४ ओखरबोटमा सिसाखानी रहेको भन्दै पटक–पटक स्थानीयले उत्खनन्को माग गरेका छन् । विगत आधादशक यता स्थानीयले गाउँमा सिसाखानी रहेको र केही प्रमाणहरू सुरक्षित राखेर संरक्षण तथा स्थलगत अनुसन्धानका लागि अनुरोध गरेपनि बेवास्ता गरेको स्थानीय जगदिश रसाईलीले बताए।

‘गाउँमा भेटिएको प्रमाण सुरक्षित राखेको छु,‘हामीले बोलेर मात्रै भएन,‘चासो देखाउनुपर्ने निकायहरू कानमा तेल हालेर बसेका छन्’ रसाईलीले भने । उनका अनुसार गाउँमा रहेको तामाखानी समेत प्रयोगमा आउन नसकेको बताए ।

नेपालका सरकारी निकायले चासो नदेखाएपनि नर्वे र भारतीय टोलीले गाउँमा सिसा खानी भएको सरकारी मान्यता पाए उत्खनन्मा सघाउने भन्दै फर्किएको समेत बताए ।

स्थानीय तहको निर्वाचनपछि बन्द भएको तामाखानी र सिसाखानीको खोजी हुने अपेक्षा गरिएपनि सरकारी निकायको प्रक्रिया र बेवास्ताका कारण अलपत्र परेको स्थानीयको गुनासो छ । ओखरबोट माध्यामिक विद्यालय तथा आसपासका जंगलमा सिसा र सुनको खानी रहेको भन्दै नर्वेबाट समेत एक टोली आएर अन्वेषण गरेको थियो ।

लामो समयसम्म नर्वेली नागरिकले स्थानीयलाई फलोअफ गरेपनि सरकारी उदाशिनताका कारण सम्पर्क गर्न छोडेका थिए ।सिसा खानी भएकै कारण कमजोर जमिनका कारण विद्यालय आसपासका क्षेत्रमा पहिरो समेत जाने गरेको छ ।

गाउँमै जन्मिएका अमिक शेरचन गण्डकी प्रदेश सरकारको प्रमुखको जिम्मेबारीमा रहेकाले अझैपनि सिसाखानीको खोजी र तामा खानी सुचारु हुनेमा आशाबादी रहेको स्थानीय यूवा नविन पुनले बताए ।

उनकाअनुसार ओखरबोटको पहिरोस्थल आसपासका क्षेत्रमा तल्कीने ढुंगाभित्र सिसा भेटेका थिए । दुईदशक अगाडी करिव एकबर्षसम्म गाउँमै बसेको नर्वे र भारतीयको टोलीले गाउँमा बहु्मुल्य खानी रहेको बताएका थिए ।

सिसा जस्तै देखिन ढुंगाहरू केही बुढापाकाले घरमै राखेका छन् । घाँसदाउरा, पशुचौपाया लिएर जाने स्थानीयले अझैपनि सिसा जस्तै ढुंगा भेटाउने गरेका छन् । जिल्लामा तामाखानी समेत प्रसस्तै रहेपनि उत्खनन्मा समस्या हुने गरेको छ ।