म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनको एक यूवा क्लवमा आवद्ध यूवाहरू ब्यवस्थित खेलकुद मैदान निर्माणमा जुटेका छन् । गाउँमा ब्यवस्थित खेलमैदानको अभावमा खेलकुद गतिविधि सञ्चालनमा समस्या भएको भन्दै शृजना यूवा क्लवले अर्मनको कुर्सिमला बस्ती नजिक रहेको खुल्ला चौरलाई खेलमैदान, हरियाली पार्क बनाउन सक्रिय भएका हुन् । क्लव स्थापनापछि निस्कृय अवस्थामा रहेको बेलामा एक भेलामार्फत क्लव पुर्नगठन गरेपछि वडा कार्यालयको आर्थिक सहयोगमा खेलमैदान, हरियाली पार्क, सामुदायिक भवन र मालिका मन्दिर निर्माण गर्ने गरी आर्थिक संकलन अभियान सुरु भएको क्लवका अध्यक्ष किशोर कँडेलले बताउनुभयो । ‘अहिले खेलमैदानमा काम भइरहेको छ,‘हामीले ठूलो योजना सहित अभियान सुरु गरेका छौ’ कँडेलले भन्नुभयो । आफ्नो गाउँलाई आवश्यक पर्ने योजनाहरुमा यूवाहरुको सक्रियता आवश्यकता पर्ने भएकाले क्लवमार्फत अभियानमा जुटेको बताउँदै खेलमैदान सम्याउन वडा कार्यालयमार्फत ६० हजार र क्लवले ४० हजार ब्यवस्थापन गरेको सचिव जगत बानियाँले जानकारी दिनुभयो ।

करिब ४० रोपनी जमिनमा सामुदायको सक्रियतामा करिब आधादर्जन योजनाहरु सञ्चालन गरिने भएबो छ । समुदायस्तरमा हुने सबै खेलकुद सहित सामाजिक गतिविधिलाई उक्त क्षेत्रमा गर्ने गरी पूर्वाधार बनाउन सहयोगको अपिल गरिएको क्लवले जनाएको छ ।

प्रयोगविहिन अवस्थामा रहेको चौरमा पूर्वाधार विस्तारमा यूवा जुटेपछि बुढापाका समेत उत्साहित छन् । यसैबीच आगामी बर्षको बजेटमा सम्बोधन गर्ने गरी गाउँपालिकालाई समेत माग गरिएको छ । क्लवको नयाँ कार्यसमिति चयन भएलगत्तै विभिन्न सामाजिक गतिविधि सञ्चालन गदैं आइरहेको छ ।